पथरी,१८  साउन । मोरङको पथरीस्थित पञ्चायत माध्यामिक  विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएसँगै अध्यक्ष युवराज बास्कोटाको अध्यक्षतामा आज सम्पन्न तेस्रो बैठकले विभिन्न विषयोपर महत्त्वपूर्ण निर्णय लिएको छ । शिक्षक प्रतिनिधिको छनौट अभावमा यसले पूर्णता पाएको थिएन । पछिल्लो समय शिक्षक भेलाबाट जानुका श्रेष्ठलाई सर्वसम्मत शिक्षक प्रतिनिधिको रूपमा पठाएँसँगै विव्यसले पूर्णता पाएको प्रधानाचार्य अर्जुनकुमार बुढाथोकीले जनाउनुभयो । 

आफ्ना बालबालिकाले पढ्ने विद्यालय र विद्यालय समयमा समुदायको उपस्थिति बढाउन जनमैत्री भूमिका खेल्ने, दैनन्दिन विद्यालय हाताभित्र अभिभावकको आवागमनको लागि यसको अनिवार्यताको आधार खोज्ने, आमरूपमा अभिभावक–विद्यालय संवाद–संयन्त्र निर्माण गर्ने, आवश्यकता देखिएअनुरुप सरोकारवालामाझ निर्धक्क संवाद आदानप्रदानको अवस्था सिर्जना गर्ने, विद्यार्थीको रुचि र क्षमतामा आधारित पठनपाठनलाई प्रभावकारी र परिणाममुखी बनाउन विद्यालयको आन्तरिक प्रशासन व्यवस्थापन सँगसँगै विव्यसले पनि नियमन र अनुगमन गर्ने निर्णय आज सम्पन्न विव्यस बैठकले गरेको सदस्य रामप्रसाद तामाङले बताउनुभयो ।  

कुनै पनि खालको विभेद देखिनु राम्रो होइन । यदाकदा झल्कन खोज्छ । सदस्य तामाङले विद्यालय हाताका लागि निर्धारित पोशाक–पहिरनलाई अनिवार्य गर्नमा प्रशासनमार्फत बैठकले ध्यानाकर्षण गर्दै छनौट पोशाक पहिरनले स्वयं व्यक्तिको मर्यादा झल्कने र उँचो रहने तर्क थप्नुभयो । विद्यालयको आन्तरिक प्रशासन व्यवस्थापन र पठनपाठनको अवस्थामा गुणात्मक सुधारका लागि गठित सबैखाले संयन्त्रको अनिवार्य उपस्थितिमा भदौको पहिलो साताभित्र अन्तरक्रियामा आधारित परिचायात्मक कार्यक्रमको आयोजना गर्ने आज सम्पन्न विव्यसले बैठकले निर्णय लिएको विव्यस रामप्रसाद तामाङले बताउनुभयो ।  

पञ्चायत मावि प्रदेशकै नमुना र स्थानीय गौरव हो । यसर्थ, ठूलो र फराकिलो भौतिक उपस्थिति मात्र होइन, पूर्वाधार विकासले समेत फड्को मारेको पञ्चायत माविमा दैनन्दिन पठनपाठनमा जोडिने ४ हजार झण्डै विद्यार्थीलाई कसरी प्रशिक्षित गर्ने ? अनुशिक्षण विधि–पद्दतिलाई कसरी प्रभावकारी बनाउने ? पथरी शनिश्चरे नगरपालिकाद्वारा अघि सारिएको शैक्षिक क्यालेण्डरबाहेक लोभलाग्दा र मोहजाग्दा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई कसरी जोड्ने ? जीवन निर्वाहमुखी शिक्षाको अनिवार्यताभित्र गुणस्तरीय शिक्षा कसरी दिने ? पञ्चायतबाट १२ उत्तीर्ण विद्यार्थी जीवनका प्रत्येक क्षेत्रमा काबिल हुन्छन् भन्ने मान्यता कसरी स्थापित गर्ने ? आफूहरूको ध्यान त्यसतर्फ खिचिँएको एकजना विव्यस सदस्यले जोड्नुभयो । परस्पर सहकार्य बिना सम्भव हुन नसक्ने यो आफैंमा जटिल विषय रहेको उहाँले जोड्नुभयो ।