विराटनगर,३ भदौ । विराटनगरको ग्रीनक्रस अस्पतालमा नवजात शिशु गायब गरेपछि प्रहरीले डाक्टर र बुबालाई पक्राउ गरेको छ । 

विराटनगर महानगरपालिका–९ मा रहेको अस्पतालबाटै बच्चा गायव बनाइएको हो । बच्चा गायब बनाएको आरोपमा प्रहरीले अन्दाजी ६८ वर्षीय डा. तपेश्वरलाल  कर्ण र बच्चाको बाबु भनिएका गोविन्द राईलाई पक्राउ गरेको छ ।

२६ वर्षीया युवतीले सोही अस्पतालमा नवजात शिशु (छोरी) जन्माएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिएकी  थिइन् । 

प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई र ती युवती २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सुरुमा ग्रीनक्रस अस्पतालनजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर गएको   खुलेको छ । 

उक्त क्लिनिकमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। तपेश्वरलाल कर्णले गर्भवतीको परीक्षण गरेका थिए । लगत्तै उनले युवतीलाई प्रसूतिका लागि अस्पताल भर्ना गरेको पाइएको डीएसपी दाहालले बताए । वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । 

अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । ब्यथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज दिएको प्रहरीले जनाएको छ । अस्पतालले बिदा दिएपछि आफूलाई प्रेमीले इटहरी लिएर गएको युवतीले बताएकी छन् । 

बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायव बनाएको गुनासो उनको छ । 

होटलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सक र प्रेमविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । प्रहरीले अन्दाजी ६८ वर्षीय डा। कर्ण र उनका प्रेमी (बच्चाको बाबु) भनिएका गोविन्दलाई पक्राउ गरेको छ । 

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। कर्ण विराटनगरस्थित कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले दिपेश मेडिकल नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् ।  डीएसपी दाहालका अनुसार दुवै जनालाई शुक्रबार साँझ पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरेपछि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै उपचारका लागि डा.कर्ण कोसी अस्पतालमा भर्ना भएका छन् । प्रहरीकै निगरानीमा उनको उपचार भइरहेको छ । 

‘बच्चा कसले लग्यो भन्ने खुलेको छैन । फेला पनि पार्न सकिएको छैन,’ डीएसपी दाहालले भने, ‘जीवितै बच्चा जन्मिएको भन्ने कुरा आएकाले खोजी भइरहेको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्छ ।’