बारा,३ भदौ । बोरामा हालेर भारत लैजाँदै गरेको अवस्थामा दुई नेपाली बालबालिकाको सशस्त्र प्रहरीले  उद्धार गरेको छ। साथै बालबालिका चोरीमा संलग्न रहेकाे अभियाेगमा एक भारतीय युवकलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएकाे छ।

सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार सीमावर्ती बाराको देवताल गाउँपालिका-३, अमवा गाउँका शिवपूजन महतोकी ९ महिने छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोराको उद्धार गरिएको हो।

बालबालिकाहरू रोएको आवाज सुनिएपछि सशस्त्र प्रहरीले चेकजाँच गर्ने त्रममा उनीहरूलाई बोरामा हालेर लैजाँदै गरेको फेला परेकाे हाे।

बालबालिका चोरीमा संलग्न रहेकाे अभियाेगमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं. ४, आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

उद्धार गरिएका बालबालिकालाई प्रहरीले  आइतबार नै परिवारको जिम्मा लगाइएको छ। मकालु खबरबाट