विराटनगर,५ भदौ । विराटनगरको ग्रीनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशु गायब पार्ने कसूरमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत असार १४ गते नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारिएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न रहेका निम्न ६ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङवाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरी सार्वजनिक गरेको हो ।
सो घटनामा संलग्न रहेका भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को गोविन्द राई,विराटनगर महानगरपालिका वडा नं. २ घर भई दिपेश मेडिकल हल संचालक बर्ष ६८ का डा. तपेश्वर लाल कर्ण,बिराटनगर महानगरपालिका वडा नं.९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत बर्ष ३३ की सुधा राजवंशी,कटहरी गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४६ की दिलमाया राजबंशी,कटहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को सुर्य नारायण राजवंशी सिराहा, कल्याणपुर नगरपालिका वडा नं. १२ वस्ने वर्ष ३८ की निर्मला यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
साथै निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । सोहि घटनामा भदौ १ गते पक्राउ गरिएका प्रतिवादीहरु डा. तपेश्वर लाल कर्ण र गोबिन्द राईलाई दिन ५ म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना भएकी २६ वर्षीया युवतीले सोही अस्पतालमा नवजात शिशु (छोरी) जन्माएकी थिइन् ।




















