पथरी, ११ भदौ। मोरङको पथरी शनिश्चरेमा सिकाइ सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । पथरी शनिश्चरे ३ स्थित जनता माविमा सोमबार सिकाइ सहजीकरण कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय शिक्षण क्षेत्रमा परिस्कृत प्रविधिमैत्री सिकाइ व्यवस्थापन कसरी गर्ने ? कसो गर्दा थप बढी प्रभावकारी हुन्छ ? भन्ने प्रश्नोत्तर सहित स्थानीय अभिभावकको समेत सहभागितामा सम्पन्न सहजीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन सुधार महासंघ नेपाल पथरी शनिश्चरे नगरपालिका कमिटी अध्यक्ष युवराज बास्कोटा,सचिव ज्ञानेन्द्रप्रसाद अधिकारी,विद्यालयका प्रधानाध्यापक पदम सापकोटा,भूतपूर्व विद्यार्थी समाज अध्यक्ष माधवप्रसाद कोइराला,विद्यालय व्यवस्थापन समिति सदस्यहरू क्रमशः गोविन्दप्रसाद दंगाल,सपना परियार,कल्पना तिम्सिना धिमाल,कमला लम्साल ढकाल,शर्मिला अधिकारी र शिक्षक डिल्लीराम बराल,खेम दाहाल र अमृता राना मगरको सक्रिय सहभागिता रहेको थियो ।
गुणस्तर शिक्षाको आवश्यकताबोध भएको छ तर यो भनेको के हो ? गुणस्तरीय शिक्षाको मापन विधि के हो ? कस्तो शिक्षा–शिक्षणलाई गुणस्तरीय शिक्षा भन्ने ? अभिभावक रमेश खड्कालगायत थुप्रैले विद्यालय हाताभित्र विद्यार्थीलाई सिकाउन,सधाउन र आचरणयुक्त विद्यार्थी बनाउन शिक्षककै भूमिका महत्त्वपूर्ण हुने रायसुझाव राख्नुभएको थियो ।
बजारसुहाउँदो शिक्षादिक्षाका लागि सामुदायिक विद्यालयप्रति खस्कँदो विश्वासका कारण निजी तथा व्यवसायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनु पर्दा आइपर्ने अचाक्ली अर्थभार थेग्न नसकेर कैयौं अभिभावक खाडी मुलुकहरूमा बेखबर रहनुपरेको तितो यथार्थलाई सचित्र राख्नु हुँदै सामुदायिक विद्यालय व्यवस्थापन सुधार महासंघ नेपाल पथरी शनिश्चरे नगरपालिका कमिटी अध्यक्ष बास्कोटा विद्यालय व्यवस्थापन र दैनन्दिन प्रशासन सुधारमा ध्यान दिनुपर्ने पक्षउपर जोड दिँदै परस्परमा कस्का छोराछोरी कहाँ पढ्छन्– सामुदायिक विद्यालय कि निजी विद्यालय ? वा अंग्रेजी माध्यम कि नेपाली माध्यम ? जस्ता विषयको चर्चाले सिर्जना गरेको विभेद नामेट हुनुपर्ने बताउनुभयो ।
विद्यालयले आफ्ना समस्त विद्यार्थीको आन्तरिक मूल्यांकन सहित तिनलाई पुरस्कृत गर्ने र सान्तवना दिने उद्देश्यका साथ यसखालको सार्वजनिक महत्त्वको कार्यक्रमहरू समयसमयमा आयोजन भइरहनुपर्ने सहभागी अभिभावकले विद्यालयसमक्ष माग गर्नुभयो ।



















