उत्तराखण्ड,१२ मङ्सिर । भारत उत्तराखण्ड स्थित उत्तरकाशीको सुरुङ भत्किएपछि सुरुङमा फसेका ४१ जना मजदुरको सकुशल उद्धार गरिएको छ । १७ दिनदेखि सुरुङमा फसेका कामदारलाई मंगलबार साँझ उद्धार टोलीले सुरुङबाट सकुशल उद्धार गरेको हो । उत्तराखण्ड सरकारले यसको पुष्टि गर्दै सबै मजदुरलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।
सुरुङबाट निस्कने बित्तिकै मजदुरलाई उत्तराखण्डका मुख्यमन्त्री पुष्कर धामी र केन्द्रीय मन्त्री वीके सिंहले स्वागत गरेका थिए । यस अवसरमा मुख्यमन्त्री धामीले ट्विट गर्दै धैर्य, मेहनत र विश्वासको जित भएको बताएका छन् ।
सुरुङको ६० मिटर भित्र फसेका मजदुरको उद्धारपछि मजदुरहरुलाई चिया पिउन दिइयो र सुरुङमै बनेको अस्थायी अस्पतालमा लगिएको थियो, जहाँ चिकित्सकको टोलीले प्राथमिक परीक्षण गरेको थियो । त्यसपछि एम्बुलेन्समार्फत कामदारलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले ४८ देखि ७२ घण्टासम्म उनीहरुको स्वास्थ्य निगरानी गर्नेछन् ।
एनडीआरएफ टोली पाइपबाट स्ट्रेचरको सहायताले सुरुङ भित्र गयो, त्यसपछि मजदुरहरूलाई एक एक गरी बाहिर निकालेको थियो । एजेन्सी




















