काठमाडौं । आमाबाबु हरेक सन्तानका लागि अत्यन्तै महत्वको विषय हो । आमाबाबुका लागि सन्तान अनी सन्तानका लागि आमाबाबु धेरैलाई नसिब हुँदैन । तर जब के हुन्छ आमा भएर पनी नभएको जस्तो अवस्था सिर्जना हुन्छ ।

यस्तै एक घटना बाहिर आएको छ । बारामा एक महिलाले आफ्नै ४ सन्तानलाई विष खुवाएर बेपत्ता भएपछि घटनाको फर्दाफाँस भएको हो । बाराको सवर्ण गाउँपालिका– ४, देवापुर चौरहियाका रुसमा खातुनले आफ्नै ४ सन्तानलाई विष खुवाएर बेपत्ता भएको बताइएको छ । पति लालबाबु मिया आफ्ना भाइबुहारीको उपचारका लागि भारत गएको समयमा रुसमाले भात, दाल पकाई त्यसमा विष मिसाएर आफ्ना छोराछोरीहरुलाई खुवाएर फरार भएको परिवारले आरोप लगाएको छ ।

बच्चाहरु घरमा रोइरहेको सुनेर आफू आउँदा बाल–बालिकाहरु बान्ता गर्दै छट्पट्याईरहेको देखेको लालबाबुका काका भिखारी मियाले बताए । रुसमाका काका ससुरा भिखारी मियाका अनुसार लालबाबु र रुसमाका ८ वर्षीय छोरा न्यामुदिन मिया, २ वर्षीय छोरा औलादिन मिया, ७ वर्षीय छोरी सनाजा खातुन र ६ वर्षीय छोरी मोजना खातुनलाई कलैयास्थित अस्पतालमा भर्ना गरिएको छ ।

परिवारजनले विष खुवाएर आमा फरार रहेको आरोप लगाएको भएता पनि आमा रुसमा फेला नपर्दा सत्य–तथ्य थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनामा प्रयोग भएको विषादी र घटनाको कारण अहिले सम्म खुल्न नसकेको भन्दै अनुसन्धान भइरहेको जनाइएको छ ।