काठमाडौं । पछिल्लो समय नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसायमा फस्टाउँदै गएको छ । यो बीचमा भारतीय ओरियन्ट्स कम्पनीको आयुर्वेदिक औषधि नेटवर्किङ व्यवसायमार्फत नेपालमा कारोबार गरेको आरोपमा झापा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ ।
उनीहरु भारतको चेन्नईस्थित ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिद्बारा उत्पादित विभिन्न प्रकारका आयुर्वेदिक औषधिलाई नेपाली बजारमा कारोबार गराउन थालेको खुल्न आएको छ । झापाको मेचीनगरबाट १३ महिलासहित २१ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिबन्धित औषधिलाई नेटवर्किङ व्यवसायमा संलग्न गराउँदै सयौँ नेपाली युवालाई ठगी धन्दामा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएपसी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरूले मेचीगरस्थित धुलाबारीको खुट्टेडाँगीमा एउटा कोठा भाडामा लिएर औषधिको नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए । उनीहरूको उमेर १७ देखि २० वर्ष समूहका रहेको बताइएको छ ।
पक्राउ पर्ने झापासहित अधिकांश कैलाली, सल्यान, दाङ, बैतडी लगायतका युवायुवती रहेको डिएसपी श्रेष्ठले बताउनुभयो । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गर्न नमिल्ने बताएको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै भारतको पानीटंकी जान लागेका उनीहरूलाई शंका लागेर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो ।
तीनदिन अघि मात्र प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ फोहोर मैला भन्ने स्थानबाट अन्दाजी पाँच लाख मूल्य बराबरको ओरियन्ट्स कम्पनीको आयुर्वेदिक औषधि बरामद गरेको थियो ।
अवैध रूपमा नेपाल भित्र्याइएको ओरियन्ट्स कम्पनी लेखिएको विभिन्न किसिमका दुई कार्टुन औषधि बरामद गरी आवश्यक कारबाहीको लागि औषधि व्यवस्था विभाग विराटनगर पठाएको छ ।




















