विराटचोक,२८ मंसिर । मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा वृत्ति विकास र छात्रवृत्तिका लागि पहुँच विस्तारका विषयमा परामर्श र पथप्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पस र युनाइटेड वर्ल्ड स्कूल (UWS) काठमाडौँको संयुक्त आयोजनामा मंसिर २५ र २६ उक्त कार्यक्रम सम्पन्न भएको हो ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले विभिन्न क्षेत्रबाट वृत्ति विकास र छात्रवृत्तिका लागि गर्नु पर्ने काम‚ अपनाउनु पर्ने तरिका‚ स्रोतहरू तथा वृत्ति विकास सुविधा र छात्रवृत्तिका लागि पहुँच विस्तारका विषयमा परामर्श र पथप्रदर्शन कार्यक्रम सम्पन्न गरिएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिनु भयो ।
युनाइटेड वर्ल्ड स्कूल (UWS) ले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न निकाय‚ सङ्घ/संस्थाहरूबाट विद्यार्थीहरूको वृत्ति विकास सुविधा र छात्रवृत्तिका निश्चित रकम‚ खाना‚ आवास‚ शैक्षिक सामग्री‚ स्वस्थ्य विमा जस्ता सुविधा सङ्कलन गरी विद्यार्थीहरूलाई उपलब्ध गराएको विषयमा विषयविज्ञका रुपमा सो संस्थाका छात्रवृत्ति शाखाका प्रमुख विवेकरत्न शाक्यले स्पष्ट पार्दै वृत्ति विकास सुविधा र छात्रवृत्तिको प्राप्तिका लागि परामर्श र पथप्रदर्शन गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षक दिव्यराज दाहाल र अर्का सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले सहजिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विभिन्न सङ्घ संस्थाहरू सँग सहकार्य गरी विद्यार्थी कल्याणका लागि क्याम्पसले काम गर्ने बताउँदै यस कार्यका लागि युनाइटेड वर्ल्ड स्कूल काठमाडौँलाई धन्यवाद दिनु भएको थियो ।
यस कार्यक्रमबाट विद्यार्थीहरूले वृत्ति विकास र छात्रवृत्तिका सुविधा प्राप्त गर्न फलदायी हुने अपेक्षा गरिएको र क्याम्पसले पनि विभिन्न स्रोतबाट छात्रवृत्ति सुविधा प्रदान आएको र यसको दायरा अझै विस्तार गरिने कुरा सहायक क्याम्पस प्रमुख दहालले बताउनु भयो ।
दुई दिनसम्म सञ्चालित सो कार्यक्रममा ३५० भन्दा बढि अध्ययनरत विद्यार्थी सहभागी भएका थिए ।



















