काठमाडाैँ/ सरकारले भारतबाट आउने ताजा तरकारी तथा फलफूलको विषादी परीक्षण कार्य तत्काल स्थगन गर्ने निर्णय गरेको छ ।
भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको हो ।
सीमा नाकामा फलफूल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो ।
भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो ।
आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको हो । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफूल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको भन्सार विभागका एक उच्च अधिकारीले बताए ।
गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । निर्णयसँगै आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको थियो।
हाल कालिमाटी र सर्लाहीको हरिवनमा मात्रै फलफूल तथा तरकारीको विषादी परीक्षण हुन्थ्यो । भन्सारहरुमा विषादी परीक्षणको उपकरण नहुँदा आयातकर्तालाई काठमाडौं आई नमुना परीक्षण गराई लैजानु पर्ने बाध्यता थियो ।
कालिमाटी बजारमा आउने तरकारी तथा फलफूलको ४० प्रतिशत भारतले ओगटेको छ भने ६० प्रतिशत स्थानीय बजारले ओगटेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ ।




















