विराटचोक८ पुस । मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसको प्राथमिक उपचार एकाइले शनिबार सामाजिक सम्बन्ध विस्तारका लागि सुन्दरहरैँचा १२ को सुकुम्वासि बस्तिमा "महिनावारी सचेतना आजको आवश्यकता" भन्ने नाराका साथ सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले महिनावारी भएको बेला छोरी बुहारीलाई हेला होइन माया, सहयोग गर्नु पर्ने र सरसफाईमा ध्यान दिनु पर्ने कुरामा जोड दिए । क्याम्पसले अब समाजमा आधारभूत विषयहरूमा सचेतना कार्यक्रम सञ्चालन गर्ने कुरा उनले उल्लेख गरेका छन् ।
उक्त कार्यक्रममा महिलाहरूको टोल भेलामा स्रोतव्यक्तिका रुपमा स्वास्थ्य विषयका शिक्षक मनिषकुमार थापा र स्वास्थ्य कर्मचारी कोपिला पोख्रेलले महिनावारीका समयमा घरपरिवारका अन्य सदस्यहरू र सम्बन्धित छोरी बुहारीहरूले अपनाउनु पर्ने सावधानिका विषयमा प्रष्ट पारेका थिए । कार्यक्रम सँगै क्याम्पसको तर्फबाट सेनिटरी प्याड वितरण गरिएको र प्रेसर मापन गरि अभिलेख कायम गरिएको जानकारी सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिएका छन् । उक्त कार्यक्रमको सञ्चालन प्राथमिक उपचार एकाइका संयोजक एवम् उपप्राध्यापक खगेन्द्रराज दहालले गरेका थिए ।





















