पथरी,८ पुस । मोरङको पथरीशनिश्चरेमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्चित विश्वकर्माले पाँचौं संस्करणको एसबिएससी सिङ्गिङ स्टारको उपाधि जितेका हुन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्चितले सो उपाधि चुमेका हुन् ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको प्रतियोगिताको फस्ट रनरअप दुई जना घोषित भएका थिए । उर्लाबारीस्थित सुनगाभा सेकेण्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीकै पार्लेन्स सेकेण्डरी स्कुलका प्रशनेहा ठाकुर भए । उनीहरुले बराबरी अंक ल्याएपछि उनीहरुलाई फस्ट रनअरप घोषित भएका हुन्।
प्रतियोगिताको सेकेण्ड रनरअप पथरीस्थित एभरेष्ट स्कुलकी रोशनी गुरूङ्ग घोषित भइन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
‘आवाज तपाईंको, गौरव राष्ट्रको देन नीजि विद्यालयको ’ भन्ने मूल नाराको साथ प्रत्येक वर्ष एसबीएससी सिङ्गिङ स्टार हुँदै आएको छ । प्रतियोगितामा बिजेता हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा जिल्लाभरीबाट विभिन्न चरणको अडिसनबाट छनौट भएका विद्यार्थीहरु फाइनलमा पुगेका थिए । झण्डै ३ सय बढीले भाग लिएको उक्त गत अडिसन राउण्ड साउनदेखि सुरु भएको थियो । विभिन्न चरणको अडिसन राउण्डबाट छनाेट भएर फाइनलमा १४ जना पुगेका थिए । अडिसन राउण्ड विराटनगर, रंगेली, उर्लाबारी र विराटचोकमा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख कोइरालाले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रतियोगिताले ठूलो सहयोग पुग्ने बताए । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
त्यसैगरी , संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकीले विद्यार्थीहरु अलौकिक प्रतिभालाई बाहिर ल्याउन यस्ता खाले कार्यक्रम गर्दै आइरहेको बताएका छन् ।
कार्यक्रममा हिसानका केन्द्रिय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम पुरी, अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, , पूर्व अध्यक्ष इन्द्र राई लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।




















