विराटचोक‚१३ पुस । मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको छ । क्याम्पसको र स्वतन्त्र विद्यार्थी युनियनको संयुक्त आयोजना तथा क्याम्पसमा रहेका सबै विद्यार्थीहरूका संघ / संगठनहरूको सहमति तथा सहभागितामा स्वागत कार्यक्रम गरिएको हो ।
शुक्रबार भएको कार्यक्रममा विभिन्न सँस्कृतिक कार्यक्रम सहित क्याम्पस प्राङ्गणमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरिएको बेहोरा सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद दहाले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै नवआगन्तुत विद्यार्थीहरूलाई स्वागत गर्ने क्रममा क्याम्पसले विद्यार्थीमा रहेका सिप‚ ज्ञान र क्षमतालाई प्रोत्साहन गर्दै क्याम्पसलाई पूर्वकै शैक्षिक केन्द्र बनाउने गरी योजना तर्जुमा गरिएको घोषणा गर्नु भएको थियो ।
त्यसैगरी क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययन‚ अध्यापन‚ अतिरिक्त क्रियाकलाप‚ खोज अनुसन्धान‚ व्यक्तित्व विकास र शैक्षिक नतिजाका क्षेत्रमा क्याम्पसलाई गुणस्तरीय थलो बनाउने कार्यमा विद्यार्थीहरूको साथ सहयोगको अपेक्षा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा अनेरास्ववियुका योगेश दाहाल,अखिल क्रान्तिकारीका सत्तीस कार्को‚ नेविसंघका विजय ओझा र अनेरास्ववियूका रोहन खत्रीले विद्यार्थी एकतामा जोड दिँदै नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय रुपमा ख्यातिप्राप्त हाँस्यव्यङग्यका सम्राट मनोज गजुरेलले राजनीतिक‚ सामाजिक‚ साँस्कृतिक र शैक्षिक क्षेत्रमा देखिएका विकृति तथा विसङ्गति माथि कडा व्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थी कलाकारहरूले ५ वटा गायन र ३२ वटा नृत्य प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा शिक्षक‚ कर्मचारी‚ विद्यार्थी‚ विद्यार्थीका सङ्घ सङ्गठनका नेता‚ पूर्वस्ववियुका सभापति एवम् पदाधिकारीहरू‚ पूर्वविद्यार्थीहरू‚अभिभावक र पत्रकारहरूको उपस्थिति रहेको बेहोरा सहायक क्याम्पस प्रमुख दाहालले जानकारी दिनुभयो ।
स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सन्तोष लिम्बूको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्ववियु उपाध्यक्ष भोजराज रिजालले सबै सहभागिहरूलाई स्वागत गर्नु भएको थियो । दुई चरणमा सञ्चालन गरिएको स्वागत कार्यक्रमको पहिलो चरणको कार्यक्रमको सञ्चालन स्ववियु सचिव एलिस ओझाले गर्नुभएको थियो भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रमको सञ्चालन स्ववियु सदस्य मधु घिमिरेले गर्नुभएको थियो ।




















