काठमाडाैँ, २२ असार । बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत दुई जना वेपत्ता भएका छन् ।
भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलामा बगेर साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कामी तामाङ र लाफिङबुद्ध हाइड्रो पावरका पेम्बा थोक्याल शेर्पा घाइते छन् । उनीहरुलाई आइतबार बिहान हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ ।
घटना शनिबार मध्यरातिको भए पनि आइतबार बिहान ७ बजेमात्र खबर पाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
गएराति भोटेकोशी नदीमा आएको बाढीले नदी नजिकका चारवटा हाइड्रो पावरमा क्षति पुगेको छ । बाढीले निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी, शुभश्री र चाकुखोला हाइड्रोपावरमा क्षति पुगेको छ ।




















