विराटचोक,११ माघ । मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा अनुसन्धानका विभिन्न परियोजना सञ्चालन गर्ने गरी बैठक सम्पन्न भएको छ । अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा सञ्चालित उक्त बैठकमा ७० जना शिक्षकहरूको उपस्थिति रहेको थियो ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान व्यवस्थापन एकाइका प्रमुख गणेशप्रसाद दहालले शिक्षकहरूबाट (एकेडेमिक ह्यान्डबुक अफ सुकुना) मा प्रकाशन गरिने अनुसन्धानमूलक लेखहरूको ढाँचा‚ स्वरुप‚ लेखन तरिका र सम्भावित विषयबस्तुहरूको रुपरेखा प्रस्तुत गर्दै लेख उपलब्ध गराउन आव्हान गर्नु भएको थियो । त्यसैगरी अनुसन्धान र सर्भेका लागि प्रस्तावना माग गर्दै विज्ञ समिक्षीत जर्नलका लागि लेख उपलब्ध गराउन अनुरोध गर्नु भएको थियो ।
यस्ता प्राज्ञिक कार्यहरूबाट शिक्षकको पेशागत क्षेत्रमा पुग्ने योगदानको चर्चा गर्दै शिक्षकहरूको वृत्ति विकासमा सहयोग पुर्याउन क्याम्पस र काठमाडौँ विश्वविद्यालय सहकार्यमा शिक्षकहरूलाई ४८ घण्टे विकसित अनुसन्धानको कोर्स सञ्चालन गरिने योजना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा क्युएए फोकल पर्सन नरप्रसाद भण्डारीले विश्वविद्यालय अनुदान आयोग नेपालले गरेको ५ दिने अध्ययन र अनुगमनका क्रममा प्राप्त भएका सुझावहरू प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी शिक्षक उषाकिरण वाग्ले क्याम्पसले बङ्गलादेशका विश्वविद्यालयहरू सँग गरेको सम्झौताका विषयबस्तुहरू र यसबाट क्याम्पसले प्राप्त गर्ने उपलब्धिको चर्चा गर्दै यात्राको विवरण र अनुभवहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अर्का सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले अबका दिनहरूमा सबै शिक्षकहरू अनुसन्धानका गतिविधिमा लाग्नु पर्ने र क्याम्पसका कार्यक्रमहरूमा सक्रिय सहभागी हुनु पर्ने विषयमा जोड दिनु भयो ।
कार्यक्रमको सभापतिको रुपमा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले अनुसन्धान व्यवस्थापन एकाइको कार्ययोजनालाई कडाइका साथ पालना गर्दै‚ अध्ययन‚ अध्यापन‚ अनुसन्धान‚ लेखन र प्रकाशनका क्षेत्रमा अब्बल हुनु पर्ने र शिक्षकहरू यी यस्ता कार्यक्रममा संलग्न भएमा पुरस्कार तथा प्रोत्सहन गर्ने कुरामा जोड दिनु भयो । उक्त बैठकको सञ्चालन सहायक क्याम्पस प्रमुख दहालले गरेका थिए ।



















