काठमाडौं - सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाइ सस्तो र सर्वसुलभ बनाउनुको सट्टा सर्वसाधारण जनतालाइ मारमा पार्नेगरी स्वास्थ्य बिमा नीति परिवर्तन गरेको छ।  

केही वर्षदेखि निशुल्क सेवा दिंदै आएकोमा सरकारले  गत माघ १ देखि स्वास्थ्य बिमामा संलग्न सबै स्वास्थ्य संस्थामा उपचार गराउँदा बिमितले १० प्रतिशत रकम आफैँ तिर्नुपर्ने  व्यवस्था लागू गरेको थियो। स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रमा जनतालाई निशुल्क सेवा दिनुपर्नेमा बिमितले शुल्क तिर्नुपर्ने ब्यबस्थाको बिरोध भइरहेको बेला यसै हप्ता स्वास्थ्य बीमा लागु भएका  निजी तथा सामुदायिक अस्पतालहरूमा  बीमामार्फत उपचार गराउँदा बिमितले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने  निर्णय गरिएको छ । 

स्वास्थ्य बिमा बोर्डको फागुन २४ मा बसेको बैठकले निजी तथा सामुदायिक अस्पतालहरूमा आगामी बैशाखदेखि २० प्रतिशत भुक्तानीको नियम लागू गर्ने निर्णय गरेको हो। सरकारी अस्पतालहरूमा भने यसअघिकै निर्णयअनुसार १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने छ। स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्न निजी तथा सामुदायिक अस्पतालहरूमा २० प्रतिशत भुक्तानीको व्यवस्था गरिएको बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताए ।