- युवराज बास्कोटा
नेकपा (एमाले) रतुवामाई नगरपालिका कमिटीले आयोजना गरेको श्रद्धाअर्पण कार्यक्रममार्फत आफ्नो सहभागिता जनाउँन बिहानबिहानै सौठा चौक पुगेँ । नेता कमरेड विनोद ढकालसहित विराटनगरको उल्लेख्य पंक्ति सौठा पुगिसकेको थियो ।
कमरेड दुर्गा विष्टको श्रद्धेय आमा लक्ष्मीकुमारी विष्टको देहावसानको आज दशौँ दिन । रीतिरिवाजअनुसार दशदिनको अन्त्येष्टि कर्मसंस्कार उहाँ व्यस्त हुनुहुन्थ्यो । आधा घण्टाको समय लिएर दिवंगत आमाप्रति भावबिह्वल मुद्रामा मौनश्रद्धा, अगाध सम्मान र श्रद्धासुमन अर्पण गरियो । नेता विनोद ढकाल, महेन्द्र विष्ट, सोमराज थापा, मीनप्रसाद आचार्य, रुपेश खतिवडासहित उपलब्ध पंक्ति कार्यस्थल विराटनगर फर्कियो । हामी सँगसँगै पुग्न समर्थ्य नेता जीवन खतिवडा र म गुञ्जबहादुर राईको जीवनसंगीनीको देहावसानमा सरिक हुन जाने भनेर अरु केहीबेर इटहरामा अल्मलियौँ ।
११ बजे रतुवामाई नपा वडा नं. ६, शनिश्चरे बजारस्थित दिवंगत नेता गुञ्जबहादुर राईको जीवनसंगीनी कमरेड रामकुमारी थुलुङ राईको घरमा पार्टी जुट्यो, हामी पनि सँगसँगै जुट्यौँ । रक्तक्यान्सरका कारण मृत्युवरण गर्नुभएको वर्ष ६५ को कमरेड रामकुमारी राईप्रति श्रद्धा प्रकट गर्न आउने मासिनको जमात एउटा घुँइचोको रूपमा उत्रियो । हेर्दाहेर्दै सयौँको संख्यामा यो भीड क्रमशः बढ्यो । श्रद्धासुमन व्यक्त गर्न तँछाडमछाडको अवस्था देखियो ।
नगर अध्यक्ष कमरेड देवीप्रसाद दाहालले श्रद्धाअर्पण र शोक–समवेदना कार्यक्रमको उद्घोषण आरम्भ गर्नुभयो । कम्युनिष्ट आन्दोलन निर्माणताका दिवंगत नेता गुञ्जबहादुर राईले खेल्नुभएको भूमिकामाथि अध्यक्ष संस्मरणात्मक पक्षलाई पस्कन मात्र के लाग्नुभएको थियो– मानिसका आँखा निकै रसाए । दुई छोरा प्रकाश, किरण र बुहारी पार्वातामा थामिनसक्नु पीडाबोध भएको थियो । पहाडले थिचेको अनुभूति छोराहरूको अनुहारमा प्रकट हुन्थ्यो ।
कम्युनिष्ट आन्दोलन निर्माणमा मात्र होइन, आधारभूत तहका मानिसको सरोकारसँग प्रत्यक्ष जोडिएका सामाजिक गतिविधिमा समेत सादगीपूर्ण यात्राको सारथि बन्नुहुने गुञ्जबहादुर राई दुई पटक सिजुवा गाविसको अध्यक्ष हुनुभयो तर एक सुको आर्जन गर्नुभएन, कमाउने जमाउने ध्याउन्न पाल्नुभएन, घरपरिवारको आर्थिक अवस्थामा सुधार्नतिर लाग्नुभएन, जस्ताकोतस्तै कार्यकाल सकेर विश्राम लिनुभयो भनेर अध्यक्ष दाहालले आफ्ना राजनीतिक गुरु गुञ्जबहादुर राईको गर्विलो विगत कोट्याइरहँदा यहाँ एकखालको सन्नाटा छायो, सबैका आँखाअघि कालो बादल मडारिएको आभास भयो र थियो कसैमा दम्भ घमण्ड केही भने यो एकाएक निहुँरियो । अगाध श्रद्धाभावले भरिएका आँखाबाट निस्किएका अश्रुधाराले मानिसको दम्भ घमण्डको अगुल्टो पनि क्षणभरमै निभ्यो ।
उपस्थित मानिसमाझ घाइँघुइ चल्दै गर्दा दिवंगत रामकुमारीको त्याग समर्पण र गुञ्जबहादुर राईको विरासतप्रति नियालेको आभास हुन्थ्यो । उहाँहरूका अनुसार पुराना कम्युनिष्ट नेता दिवंगत नेता गुञ्जबहादुर राई भन्ने गर्नुहुन्थ्यो– मानवीय इच्छा र आकांक्षाहरू असीमित हुन्छन् । यसमा पनि अहिले चाहिने के हो छुट्याउन सक्नुपर्छ । वस्तुस्थिति र वस्तुगत परिस्थिति पनि अनुकूल नहुन सक्छ । यसबीच अभाव सिर्जना हुन सक्छ । अभाव अल्पकालीन एउटा पक्ष हो । यो जीवन्त होइन । मानिस राज्यको सम्पत्ति हो भने मानिसको अभाव साट्न राज्य जिम्मेवार हुनुपर्छ । हामी त्यो अभाव साट्न सक्ने राज्यको खोजिमा छौँ । यद्यपि, हामीले हाम्रा सपनाहरू जीवित राख्नुपर्छ । जीवित वस्तुमा क्रियाशीलता हुन्छ । क्रियाशीलताले उद्देश्य हासिल गर्छ । उद्देश्य हासिल गर्न हामी स्वयंमा अविराम इमान, निष्ठा र लगनले भरिएको कार्यकौशलता चाहिन्छ । कार्यकौशलता आर्जन गर्न व्यक्तिमा अटुट विश्वास, दूरदृष्टि, कडापरिश्रम, दृढ संकल्प र समर्पण चाहिन्छ ।
औसत कमजोर आर्थिक अवस्था भएकै कारण आज ४ दिनको अन्त्येष्टि कर्मसंस्कारबाट उन्मुक्त हुन छोराहरू प्रकाश र किरणले असजिलो व्यहोर्नुपरेको यथार्थसामु स्थानीय पार्टी र पार्टी नेतृत्व मौन रहन र ट्वाल्ल बस्न सकेनछ– मनमिल्दा र हितचित्तप्रेमी साथीभाइमाझ पुगेर र सबैजना जुटेर १ लाख ३८ हजार ५ सय नगद सहयोग समेत हाथमा थमायो ।
कैयौँ दाउपेचका लागि राजनीति गर्ने, मौकाअनुरुप राजनीतिमा आउने र सिजनअनुसार पार्टी फेर्ने कतिपय पात्र विशेषका लागि गुञ्जबहादुर राईको जीवन आफैंमा प्रेरणाको शीतल छाहरी हो । नेकपा (माले) निर्माणका लागि प्रयोग गरिएको कमरेड टेकबहादुर राईको घरमा भूमिगतकालीन कहरमाझ पनि असाधारण महत्त्वका साथ भव्य सम्पन्न ऐतिहासिक कार्यक्रममार्फत चुनिन्दा स्वयंसेवक रहनुभएका गुञ्जबहादुर राई इटहराले हुर्काएको कम्युनिष्ट आन्दोलनको इतिहासको दह्रिलो र भरिलो खम्बा हो ।
गाविस अध्यक्ष आफैंमा चानचुने होइन, त्यो पनि दुई पटकसम्म । तथापि, उहाँले लाभको पदलाई बजारमा साटेर र अनुचित ढंगले भजाएर यसवापत केही आर्जन गर्नुभएन । पदप्रतिको मोहलाई महत्त्व दिनुभएन । बुर्कुुसी मार्नका लागि पदले उठाएको कदमा कहिल्यै उफ्रनुभएन, हुँकार पिट्नुभएन, डंका चुट्नुभएन ।
स्थानीय जनापेक्षाअनुसार प्राप्त पदको अधिकतम सदुपयोग गर्नुभयो, कहिल्यै दुरुपयोग गर्नुभएन । गरेको भए प्रशस्तै धनोपार्जन गर्न सक्नुहुन्थ्यो होला, गर्नुभएन । जायज मुद्दा बोक्नुभयो, नाजायज तरिकालाई छेउ पर्न दिनुभएन, कहिल्यै अवलम्बन गर्नुभएन । सुन्दर समाजको सुन्दर चित्र कोर्न र चरित्र निर्माण गर्न कुनै एउटा पनि नश्ललाई बढ्ता महत्त्व दिनुभएन । लोकतन्त्रलाई सर्वपक्षीय सहभागितामा रमाउन दिनुपर्छ मान्यतामा दृढ गुञ्जबहादुर राईले राजनीतिमा कम्युनिष्ट बिचारको जामा लगाएर गैरकम्युनिष्ट आचरण, बिचार र व्यवहारको बाहक बन्नुभएन । राजनीतिक जिम्मेवारी निर्वाहदेखि लिएर राजकीय महत्त्वका हिसावले प्राप्त पदलाई भन्दा स्थानीय समाज, समाजको विशेषताअनुरुप संगठित रहेको पार्टी र स्वयं आवद्ध संगठनलाई शीरमा राखेर काम गर्ने गर्नुभयो । सम्भवतः यो नै एउटा पक्ष हो– मरणोपरान्त आज पनि समाजले उहाँलाई सम्झिरहेको छ, क्षणक्षणमा स्यालुट गर्ने गरेको छ ।
जननेता मदनकुमार भण्डारीको राजनीतिक बैचारिक प्रशिक्षण, प्रस्तुतीकरण र यसको प्रकाशमा आधारभूत तहका संगठन निर्माण र परिचालनका सन्दर्भमा नजिकैबाट अत्यन्तै धेरै प्रभावित अग्रज कमरेड गुञ्जबहादुर राई र रामकुमारी थुलुङ राईलाई एकैपटक सम्झँदै र श्रद्धा व्यक्त गर्दै सहभागी कमरेडहरू भूवनसिंह राई, मालती सुब्बा, जीवन खतिवडा, गोपी चापागाँई, लुखिराम हस्दा, प्रकाशचन्द्र ढकाल, देवीप्रसाद दाहालसहित हामी सबै तयतर्जुमा भएका कार्यक्रमअनुरुप आ–आफ्ना गन्तव्यतर्फ लाग्यौँ ।
गर्विलो सम्मान सहित हार्दिक श्रद्धासुमन ।



















