बनेपा — नक्कली नोटसहित काभ्रेको बनेपाबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेथानचोक गाउँपालिका-३ का २५ वर्षीय सबिन हुमागाई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनलाई शुक्रबार दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले काभ्रेको बनेपामा सञ्चालित एचएम मोबाइल सेन्टरमा नक्कली नोट छाप्दा–छाप्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

लगनखेलबाट दुईजना कारोबार गर्दा गर्दै नियन्त्रणमा लिएपछि सोधपुछ गर्दा धापाखेलको प्रहरी र इलाका प्रहरी कार्यालय बनेपाको टोलीले हुमागाईंसहित नक्कली नोट बरामद गरेको छ ।

पक्राउ परेका हुमागाईंको मोबाइल पसलबाट प्रहरीले ६९ हजार ५०० रुपैयाँ नक्कली नोटसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार नोट छाप्ने क्रममा हजारको ६९ थान र १०० को एक थान नोट बरामद भएको हो ।

प्रहरीले हुमागाईंको साथबाट मोबाइल, आइफोन, ल्यापटप र कलर प्रिन्टरसमेत नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए । पक्राउ परेका पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि  जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।