पोखरा - गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । यसले  गण्डकी प्रदेशमा सत्ता समीकरण रोचक हुने भएको छ ।

मनाङेले स्वतन्त्र सांसदको हैसियत मागेसँगै गण्डकीको सत्ता राजनीति नयाँ मोडमा जाने भएको हो । उनले प्रदेशसभा सचिव हरिराज पोखरेललाई दल त्याग गरेको जानकारी गराएका छन् ।  स्वतन्त्र रूपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका मनाङेले  पार्टी छाडेपछि अहिलेको सरकारलाई सत्ता जोगाउन सजिलो हुने भएको छ ।

कांग्रेस नेतृत्वको सरकार जोगाउन मनाङे र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई आफ्नो कित्तामा ल्याउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे क्रियाशील छन् । गोरखाबाट माओवादी चुनाव चिह्न लिएर चुनाव जितेका देवकोटा र मनाङे सहभागी हुँदा मात्रै पुरानो गठबन्धनको बर्तमान सरकारको बहुमत पुग्छ । उनीहरुबिना अहिलेको बाम गठबन्धन अनुसार गण्डकीमा बहुमत पुग्दैन। 

गण्डकीमा कांग्रेसको २७, एमालेको २२ माओवादी केन्द्रको देवकोटा र सभामुखसहित ८, राप्रपाको २ र मनाङे गरी ६० सदस्य छन्। माओवादीबाट जितेका कृष्ण धिताल सभामुख भएकाले उनले सत्ता समीकरणका लागि मतदान गर्न पाउँदैनन्।

एमाले र माओवादी गठबन्धनमा देवकोटासहित २९ मत पुग्छ। गण्डकीमा सरकार बनाउन बहुमतका लागि ३१ मत चाहिन्छ। यसमा राप्रपाको दुई सिटले समर्थन जनाउँदा मात्र एमाले र माओवादीको गठबन्धनले बहुमत पाउँछ।

सांसद मनाङे र नेपाल समाजवादी पार्टीका सांसद देवकोटा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएको अवस्थामा उक्त गठबन्धनको २९ मत पुग्छ। यस्तो अवस्थामा कांग्रेस नेतृत्वको बर्तमान प्रदेश सरकार जोगाउन राप्रपाको दुई सिट जरुरी हुन्छ।

केन्द्रको गठबन्धनले मौजुदा गण्डकी प्रदेश सभा विघटन हुने र मध्यावधिमा जान सक्ने खतरा भएकोले आफुले दल त्याग गरेको मनाङेले बताएका छन् । नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनको दल त्यागपछि गण्डकीको राजनीतिमा नयाँ ट्वीस्ट आएको छ ।