विराटचोकसुकुना वहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सविना विश्वासले बी.बी.ए. दोस्रो सेमेष्टरमा ४ एस.जि.पि.ए. (SGPA) ल्याउँदै नेपाल प्रथम भएपछि मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ७, धोबीयारे र आसपासको थारु बस्तीमा खुशीयाली छाएको छ ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय ब्यबस्थापन संकाय अन्तरगत सार्वजनिक भएको बीबीए दोस्रो सेमेष्टरको परीक्षाको नतिजामा विश्वास नेपाल टपर भएको खबर जताततै फैलिएपछि जनसंख्याको ८० प्रतिशतभन्दा बढी थारु बस्ती भएको धोबीयारे र आसपासका गाउँमा खुशीयाली छाएको हो ।
शुक्रबार नेपाल पुर्वको टिम ग्रामथानस्थित थारु बस्तीमा पुग्दा प्रत्येक टोलका चिया पसलदेखि चोक चोकमा मानिसहरु सविनाकै चर्चा गरिरहेका थिए ।
बिक्रमसम्बत २०६१ साउन ११ गते बुवा राम र आमा आशाको कान्छी छोरीको रूपमा जन्मिएकी सविनाले कक्षा ८ सम्म हरैचा मोडल स्कुल पढिन् । त्यसैगरी कक्षा ८ देखि १० सम्म बिराटनगरस्थित पोखरिया माबिमा र कक्षा ११ र १२ मेरिल्याण्ड कलेज बिराटनगर नै पढिन् । जब बीबीए पढ्ने तयारी भयो, तब बिराटनगरको डिग्री क्याम्पस र महेन्द्र मोरङ क्याम्पसले कोटा खाली छैन भन्दै भर्ना लिन नमानेपछि छोरीलाई बिबिए अध्ययनका लागि सुकुना क्याम्पसमा भर्ना गरिएको सविनाका बाबू राम विश्वासले बताए ।
सविनाकी आमा आशा चौधरीले छोरी सबिनालाइ निशुल्क पढ्ने ब्यबस्था गरिदिन आग्रह गरेकी छिन् ।
पिछडिएको थारु समुदायमा जन्मिएकी भएपनि सबिनाका बुवा राम खवास शिक्षक छन् । आमा आशा पनि स्वास्थ्य क्षेत्रमा कार्यरत छिन् । परिवारका तीन सन्तान मध्ये कान्छी सबिनाकी एउटी दिदीको बिवाह भैसकेको छ भने उनका दाजु अध्ययनका क्रममा जापानमा छन् ।
.बी.ए. दोस्रो सेमेष्टरमा नेपाल टपर भएपछि अहिले सविनालाई सम्मान गर्ने क्रम बढेको छ शुक्रबार सबिना पढेको हरैंचा मोडल स्कुलले उनलाइ सम्मान गरेको छ । ग्रामथान नगरपालिका लगायत विभिन्न स्कुल तथा संघ संस्थाले सम्मान गर्ने घोषणा गरेका छन् । सबिनाको सफलताले थारु समुदाय लगायत सबैलाई मिहिनेत गरेमा सफल हुन सकिन्छ भन्ने प्रेरणा मिलेको कोशी प्रदेशका पुर्वमन्त्री बिजय बिश्वासले बताए ।
परीक्षाको नतिजा अनुसार यस क्याम्पसको बी.बी.ए. दोस्रो सेमेष्टरमा ३२ जना मध्ये २० जना विद्यार्थीले भेरी गुड र १२ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको सुकुना क्याम्पसको बिबिए संकायका निर्देशक शंकर देवानले बताए ।
सुकुना क्याम्पसमा बिएड दोश्रो वर्षमा अध्यनरत विद्यार्थी लेकीडाेमा तामाङ र बिएड विज्ञान दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी रविन राई नेपालकै कान्छी र कान्छो शिक्षक बन्न सफल भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा विश्वविद्यालय अनुदान आयोग नेपालद्धारा गुणस्तर प्रत्यायनकृत सुकुना वहुमुखी क्याम्पसकी कोशी प्रदेश कै ठुलो क्याम्पसको रुपमा परिचित छ ।


















