विराटनगर  विराटनगरस्थित  नोबल हस्पिटलमा कार्यरत नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न  २२ वर्षीय शिवशंकर दास मृत भेटिएका छन् ।  

विराटनगर – ४ स्थित नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति दास मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । 

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ कै डाक्टर धीरेन्द्र गिरीको घरमा बस्दै आएकी थिइन् ।  दिउँसो हत्या भएको अवस्थामा बाथरुममा उनको शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट थियो ।

चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशंकरले गरेको थाहा पाएपनि फरार रहेका शिवशंकर आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए ।

आइतबार  दिउँसो विराटनगरको कन्चनबारीतिर शिवशंकरको फोन लोकेसन देखिएको थियो । ट्याक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा एउटा होटलको ढोका नखुलेपछि फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

शिवशंकरले आत्महत्या गरेको होटल  हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ ।  शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएपछि चन्द्रिका कुमारीको सिएमए सिराहाका एक युवकसँग प्रेम सम्बन्धमा थिइन्  । चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । 

शिवशंकर २७ फागुनमा मलेसियाबाट फर्किएर फागुन २९ गते विराटनगर आएका थिए ।  विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो किचनमा प्रयोग हुने कटर प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।