एजेन्सी — बलिउडका चर्चित अभिनेता गोविन्दा लामो समयपछि फेरि राजनीतिमा फर्किएका छन् । गोविन्दा बिहिबार शिव सेनाको शिन्दे गुटमा सामेल भएका छन् । मुख्यमन्त्री एकनाथ शिन्देलाई भेटेर उनी औपचारिक रूपमा सक्रिय राजनीतिमा लागेका छन् ।

आगामी निर्वाचनमा गोविन्दा चुनावी मैदानमा रहने विश्वास गरिएको छ । उनले उत्तर-पश्चिम मुम्बईबाट चुनाव लड्ने अनुमान गरिएको छ। सो क्रममा उनले आफूलाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताए ।

गोविन्दाको राजनीतिमा डेब्यु सन् २००४ मा भएको थियो । त्यसपछि कांग्रेस पार्टीको टिकटमा विजयी भएर संसद भवन पुगेका थिए । उनले २० वर्षअघि उत्तर मुम्बईबाट चुनाव जितेका थिए । त्यसपछि उनले भाजपाका राम नाइकलाई हराए। राम नाइक पछि यूपीको राज्यपाल पनि बने। तर, पछि गोविन्दाले व्यक्तिगत कारण देखाउँदै राजनीति छाडेका थिए  ।

मुम्बई उत्तर-पश्चिम लोकसभा सिटमा अहिले शिवसेनाका गजानन कीर्तिकरले प्रतिनिधित्व गरिरहेका छन्। तर, कीर्तिकरको बुढेसकालका कारण एकनाथ शिन्दे समूहले उनलाई दोस्रो मौका दिने मनस्थितिमा रहेको बताइएको छ । यस्तो अवस्थामा यहाँबाट गोविन्दा लड्ने सम्भावना प्रबल मानिन्छ ।

गोविन्दासँगै बलिउडका दुई सुपरस्टार बहिनी करीना कपूर र करिश्मा कपूर पनि मुख्यमन्त्री एकनाथ शिन्देको बंगला पुगेका थिए । स्रोतबाट प्राप्त जानकारी अनुसार करिना र करिश्मा पार्टीमा सहभागी छैनन् । उनको भूमिका स्टार प्रचारकको छ । गोविन्दाको चुनावी प्रचारमा दुवै दिदीबहिनीले प्रचार गर्न सक्ने बताइएको छ ।