पर्वत — बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेलामा दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकी की ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उदहरणीय बनेकी छिन् ।
पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण महिला नेतृ समेत रहेकी भुसालले देखाएकी छन् । दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाह समेत गराइसकेकी भुसालले सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको हजुरआमा बनेपछि पूरा गर्न लागेकी छन् ।
भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसइई परीक्षामा सहभागी भएकी छन् ।
विसं २०४६ मा उनको विवाह भयो । कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुनै लाग्दा सुन्त्केरी भएर छोरा जन्माइन् । सुत्केरी भएपछि परीक्षा दिन त पाइनन् नै, उनको त्यसपछिको पढाइ समेत रोकियो । उनले कक्षा ८ सम्म बिहादी गाउँपालिका–५ उरामको चन्द्र माविमा अध्ययन गरेकी थिइन् ।
पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा कक्षा ९ मा भर्ना भइन् । कक्षा ९ उत्तीर्ण गरेर नियमित कक्षा १० अध्ययन पूरा गरेपछि अहिले भुसाल एसइईमा सहभागी भएकी छिन् ।
पाको उमेरमा भर्खरका केटाकेटीसँग बसेर अध्ययन गर्दा पनि आफूलाई असहज महसुस नभएको उनको भनाइ छ । भुसालका छोरा र छोरीबाट तीन नातीनातीना समेत छन् । ‘एसइईपछि पनि कक्षा ११ र १२ अध्ययन गर्ने उनको योजना छ ।’
भुसाल बिहादी गाउँपालिकाकी पूर्व जनप्रतिनिधिपनि हुन् । उनी पहिलो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर गाउँ कार्यपालिका सदस्य बनेकी थिइन् । भुसालले अहिले सक्रिय राजनीति गर्दै आएकी छन् । उनी नेपाली कांग्रेस बिहादी गाउँ कार्यसमितिको सदस्य तथा नेपाल महिला सङ्घ बिहादीको कोषाध्यक्ष समेत छिन् । उनले २०४८ सालबाटै नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य भएर राजनीति गर्दै आएकी हुन् ।१७ वर्ष महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा पनि काम गरिसकेकि उनले कार्यपालिका सदस्य भएपछि स्वयंसेविका छाडेकी थिइन् ।
‘ भुसालका श्रीमान् तिलक भुसाल नेपाली कांग्रेका नेता हुन् । उनी नेपाली कांग्रेस पर्वतको सहसचिव तथा सङ्गठन विभाग प्रमुख रहेका छन् । ‘सानै उमेरमा विवाह भएपछि पढाइ रोकिएको थियो, अहिले पुनः विद्यालय गएर पढ्न थालेकी छिन्’, श्रीमान् तिलकले भने, ‘उनको इच्छाअनुसार जहिलेसम्म पढ्छिन, त्यति बेलासम्म पढ्ने वातावरण मिलाउँछु ।’



















