तिमी आँउदा
नयाँ साल जस्तै गरि आउनू 
म सानो छँदा ठूलो दशैँमा 
बा ले किनिदिने 
नयाँ दौरा सुरुवाल जस्तै नयाँ
नयाँ साल नयाँ भएर आउनु

बा ले किनिदिने नयाँ  दौरासुरुवालबाट
मगमग मीठो  बास्ना आउथ्यो
जिन्दगीले हरेक साल ठूलो दशैँमा यसैगरी
पुरै नयाँ दौरासुरुवाल कोट लाउन पाउथ्यो
राती 
जब सिङ्गै घर मस्त निद्रामा घुर्न थाल्थ्यो-
तब म 
सुटुक्क उठेर बिस्तारै नयाँ दौरा सुरुवाल निकाल्थेँ 
सुमसुम्याउथेँ...सुघ्थेँ अनि पट्याएर राख्थेँ सुटुक्क
बा ले दशैँमा ल्याईदिने नयाँ दौरा सुरुवाल जस्तै
मगमगाउनु नयाँ साल 

नयाँ साल 
जीवनको पहिलो प्रेम जस्तै नयाँ भएर आउनू
जसलाई म कुर्न सकूँ 
हरपल आँखा ओछ्याएर बाटोतिर
पर्खेर प्रेमपत्र उसैगरी
जसरी ईश्वर पर्झिन्छ तपस्वी
गुँडमा आमा पर्खिन्छन् आँखा नखोलेका बचेरा
या त  बुढी आमा पर्खिन्छिन् लाहुरे छोराको बाटो
उसैगरी पर्खिन सकूँ म तिमीलाई

नयाँ साल आउदा आँगनमा
पुरानो काठे सन्दुक भित्र 
लुकाई राखूँला पुरानो साललाई 
पट्याएर राखूँला जतनसित 
जसरी पट्याएर राख्छ्यौ तिमी
मेरा पुराना चिट्ठीहरु
जसरी लुकाएर राख्छु म हाम्रा यादहरु

प्रीय नयाँ साल !
तिमी आँउदा एक झोला खुसी ल्याईदिनु
सन्तानको उन्नतीको बाटोको लागि
अलिकती घामको उज्यालो ल्याईदिनु
दुखियाका उराठिला ओठहरुका लागि
लाली गुराँससित लाली अलिकति 
पैँचो मागेर ल्याईदिनु
नयाँ सालको सबैमा शुभकामना !!