- अम्बिका भण्डारी
विराटचोक — सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाइँले अपाङ्गता भएका नागरिक तथा संचारकर्मीलाइ हप्कीदप्की गरेका छन् ।
अपाङ्गता भएका नागरिकहरुले नगरपालिकालाइ ज्ञापनपत्र बुझाउने कार्यक्रम छ भनी निमन्त्रणा गरेपछि शुक्रबार दिउँसो करिब १ बजेतिर सुन्दरहरैचा नगरपालिका पुगेका अपाङ्गता भएका नागरिक र संचारकर्मीलाइमेयर गुरागाइँले हप्कीदप्की गरेका हुन् । बिगत नौ महिनादेखि रोकिएको अपाङ्ग खाजाभत्ता पाउनुपर्ने लगायतका माग राख्दै अपाङ्ता भएका नागरिकहरु ज्ञापनपत्र सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाइँको कार्यकक्षमा पुगेका थिए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रमको भिडियो खिच्न थालेपछि मेयर गुरागाइँले 'अनुमति बिना किन भिडियो खिचेको' भन्दै सन्चारकर्मीलाइ हप्काएका थिए ।
सन्चारकर्मीले मेयरलाइ यो तपाईंको निजी घर हैन, नगरपालिका हो भन्दै प्रतिवाद गरेपछि मेयर पत्रकारप्रति मौन रहेका थिए । तर त्यसको केहि बेरपछि अपाङ्ता भएका ब्यक्तिहरुप्रति अमर्यादित रूपमा प्रस्तुत हुँदै मेयर गुरागाइँले अपाङ्गहरुलाइ धम्कीपुर्ण शैलीमा हप्कीदप्की पनि गरेका थिए । अरु त अरु ज्ञापनपत्र पढ्ने एक शिक्षकलाइ पनि उनले थर्काएका थिए ।
अपाङ्गता भएका ब्यक्तिहरुलाइ हेपेको शैलीमा मेयर गुरागाइँ प्रस्तुत भएपछि केही व्यक्तिहरुले प्रतिबाद नै गरेका थिए ।
मिलीजुली नेपाल संस्थाको नेतृत्वमा शुक्रबार करिब पाँच दर्जनभन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरु नगरपालिका पुगेका थिए । अपाङ्ग वालवालिका, वृद्धवृद्धा देखि अरुको बुइ चढेर आएका अपाङता भएका दर्जनौं ब्यक्तिहरुलाइ मेयरले शुरुमा थर्काए पनि केहीबेर पछि भने नरम बोल्दै आफ्ना कुरा राखे ।
त्यस क्रममा आफ्नो छोरा पनि फरक क्षमताको भएकोले अपाङता भएकाहरुको मर्म आफुले पनि बुझ्ने बताए । त्यसपछि चिया खुवाएर पठाउनेदेखि कुनै समस्या छ भने ब्यक्तिगत रूपमा आएर निवेदन दिन वा फोन गर्न आग्रह गरे तर पुर्व जानकारी नदिइ आएको भन्दै मेयरले आक्रोश पोखेपछि ज्ञापनपत्र बुझाउन आएका अमर बहादुर लिम्बूले अब आइन्दा यस्तो हुन्न, गल्ती भो भन्दै मेयरसँग माफी नै मागे । मेयरले अपाङता भएका ब्यक्तिहरुका समस्या समेटिएको ८ बुँदे ज्ञापनपत्र बुझेर आफ्ना कुरा राख्दै गर्दा उपमेयर अकली चौधरी पनि आइपुगिन् । उनले अपाङ्गता भएका ब्यक्तिहरुको भत्ता दुरुपयोग हुनसक्ने भएकोले वास्तविक अपाङ्गता भएका ब्यक्तिहरुले भत्ता पाए नपएको अनुगमन गर्न भत्ता रोकिएको दाबी गरिन् ।
मिलीजुली नेपालकी अध्यक्ष उर्मिला भट्टराईले नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाइ हेपेको बताइन् ।
अन्त्यमा सात दिनभित्र अपाङ्गहरुको रोकिएको भत्ता ७ दिनभित्र फुकुवा गर्न तोक लगाएर मेयर गुरागाइँ कार्यकक्षबाट निस्किएका थिए ।
स्थानीय सरकार प्रमुखजस्तो जिम्मेवार पदमा बसेका मेयरले कार्यालयमा आएका नागरिक र सन्चारकर्मीलाइ जसरी हप्कीदप्की गरे, त्यो भने शोभनीय मान्न सकिदैन ।



















