बुटवल — रुपन्देहीमा आफ्नै छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–५ बर्गदवाका नारायणबहादुर जिसी छन् ।
प्रहरीले उनलाई आफ्नै १७ वर्षीया छोरी अन्जली जिसीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरेको हो । बुटवलको ईटाभट्टी लाइनमा रहेको मालिका होटल एन्ड लजमा रडले हानेर छोरीको हत्या गरी शवलाई होटलको कोठामै सिरकले छोपेर नारायण भागेका थिए ।
प्रहरीले खोजतलासका क्रममा बिहीबार दिउँसो कञ्चन ४, थकालीचोकबाट नारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अञ्जली कञ्चन कै हरैँया माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत थिइन् ।




















