बिर्तामोड — झापाका एक दर्जनभन्दा बढी सहकारीसहित पूर्वका विभिन्न सहकारीहरुमा श्रृङखलावद्ध चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

 बिषेश सूचनाको आधारमा झापा र सुनसरी प्रहरीले ६ जनाको समूहलाई शुक्रबार इटहरीबाट  पक्राउ गरेको हो । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको सूचना सत्य भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।  पक्राउ परेका व्यक्तिहरु र उनीहरुले चोरी गरेको विवरणको पहिचान खुलाइएको छैन ।

इटहरीबाट पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालय लगिएको छ । 

सो समूहले चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो । झापाका दर्जन बढी सहकारीमा भएको चोरीको घटनाहरुमा उनीहरुको संलग्नता देखिएको छ ।

सहकारीहरुमा लगातार चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो । संघले सहकारी दिवसमा सहकारी विरोधी विरुद्ध शक्ति प्रदर्शन समेत गरेको थियो ।