काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ मराम्चे घर भएका ३९ वर्षीय अगन्दर पौडेल छन् ।
मराम्चे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा उनलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए ।
प्रहरीका अनुसार यही बैशाख २१ गते मराम्चेथित मराम्चे सामुदायिक जंगलमा आगोलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुगेको थियो ।
आगो नियन्त्रण गर्न नसक्ने अवस्थामा थियो । पछि उक्त जंगलमा आगो लगाउने व्यक्तिलाई खोजतलास गर्दै जाँदा पौडेलले आगो लगाएको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा सोही दिन पौडेललाई सोधपुछ गर्दा उनले जंगल नजिकै रहेको आफ्नै खरबारी पाखोमा सुकेका घसेटामा आगो लगाएको र उक्त आगो अनियन्त्रित भई सामुदायिक जंगलमा पुगेको भन्ने प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।




















