काठमाडौं/ ब्राजिलका विभिन्न कारागारमा ४२ जना मृत अवस्थामा फेला परेका छन् ।अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा भेटिएका हुन् ।

अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीबन्दीको ज्यान गएको हुनसक्ने बताइएको छ । ब्राजिलका अधिकारीहरुले कारागारभित्रको झडप अन्त्य गर्न र अवरोध हटाउन निर्देशन दिएका छन् । आइतबार मात्रै अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको थियो ।

अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा कैदीबन्दीले दाँत माझ्ने ब्रस र चक्कुलगायतका सामान प्रयोग गरी एक अर्कामाथि आक्रमण गरेको कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले बताए ।

यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको मृत्यु भएको थियो । ब्राजिल विश्वमै तेस्रो धेरै कैदीबन्दी रहेको मुलुक हो । सरकारी तथ्यांक अनुसार ब्राजिलमा गत अप्रिलसम्म ७ लाख १२ हजार ३०५ जना कैदीबन्दी छन् । तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् ।

सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो । निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दंगा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् । अमेजोन जंगल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो । एजेन्सी