पर्सा । पर्सामा आफ्नै पाँच महिनाको छोराको हत्या गरी फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२७ की २२ वर्षीया आरती कुमारी छिन् ।

२०८० साउन २७ गते बिहान ९ बजेतिर आरतीले घरमा कोही नभएको बेला आफ्नै पाँच महिने छोरालाई घाँटी थिची हत्या गरेर फरार भएकी थिइन् । उनी हाल भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैया ग्राम एकडर्वा टोलमा बस्दै आइरहेकी थिइन् । आरतीको ज्यानसम्बन्धी (कर्तव्य ज्यान) मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।

आरती वीरगञ्जमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो ३ बजेतिर वीरगञ्ज १३ मा फेला पारिएको हो । पक्राउ परेकी आरतीमाथि थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिएका छन् ।