वराहक्षेत्र । चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ । चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा नसर्ने रोगहरुलाई लक्षित गरेर सुगर, प्रेसर, मुटु, किड्नी, दमलगायतका दीर्घ रोग सम्बन्धी छुट्टै क्लिनिक सेवाको सुरुवात गरेको हो ।

बराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ चतरामा रहेको चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा अस्पतालले दीर्घ रोगहरु सुगर, प्रेसर, मुटु, किड्नी र दम रोगसम्बन्धी क्लिनिक सेवाको विस्तार गरेको छ । दीर्घ रोगसम्बन्धी उपचार सेवाको उद्घाटन बराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले गर्नुभएको थियो । नगरवासीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन र कुनै पनि नगरवासी नागरिकले रोग लुकाएर बस्नु नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थाको विकास गर्न स्थानीय सरकार लागि परेको उहाँले बताउनुभयो ।

केएचडिसि नेपाल र चतरा अस्पतालको सहकार्यमा सञ्चालित भएको क्लिकमा विरामीको उपचार गर्न सुरु गरिएको छ । अस्पतालमा सेवा लिन आउने विरामीहरु मध्ये सबैभन्दा बढी बिरामीहरु नसर्ने दीर्घ रोगीहरु भएकाले नसर्ने रोग उपचारका लागि क्लिनिकको सेवा सुरु गरिएको अस्पतालका प्रवक्ता यम भण्डारीले जानकारी दिनुभयो । नसर्ने रोग क्लिनिक सञ्चालका लागि केएचडिसि नेपालले एक जना चिकित्सकलाई नियुक्त गरेको छ ।

क्लिनिक उद्घाटन कार्यक्रममा केएचडिसि नेपालका संरक्षक समेत रहनु भएका प्राध्यापक डा. सन्जीव शर्माले जचाऔं, मिर्गौला मुटु बचाऔं भन्ने नारासहित चतरा अस्पतालमा नर्सने रोगसम्बन्धी क्लिनिक सुरु गरिएको बताउनुभएको छ ।

चतरा अस्पताले २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्सरे, प्रसुति, फिजोयोथेरापी सेवा, एम्बुलेन्स, हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्सरे, हरेक दिन स्त्री तथा प्रसूती, सेवाहरू  सञ्चालन गदै आएको अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेलले जानकारी दिनुभयो ।

२०७८ सालमानै देश कै पहिलो पूर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा गराउँन सफल चतरा अस्पतालले अस्पतालबाट दिइने सेवालाई बढाउँदै लगेको चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा नम्वर २ का वडा अध्यक्ष होमप्रसाद गौतमले जानकारी दिनुभयो ।

अस्पतालले नगरवासीको सहजतालाई मध्यनजर गर्दै सार्वजनिक बिदाको दिन र शनिबार बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म अस्पतालका चिकित्सकद्वारा निःशुल्क बहिरङ्ग सेवा र २४ घण्टा आकस्मिक सेवा दिँदै आएको छ ।