काठमाडौ - एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्। प्रहरी वृत्त दरबारमार्गमा युवतीले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्। भक्तपुर सूर्यविनायक-२ बालकोट बस्दै आएका शर्मालाई प्रहरीले खोजी गरिरहेको छ।
जाहेरी परेपछि खोजीमा रहेको प्रहरीले शर्मा कहाँ छन् पत्ता लगाउन सकेको छैन।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले शर्माविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र उनी हाल फरार रहेको बताए।
‘एक जना युवतीले जबरजस्ती करणी गरेको जाहेरी दिनुभएको छ,’ उनले भने, ‘जाहेरीपछि अनुसन्धानका लागि खोजी गर्दा उहाँ फेला पर्नुभएको छैन।’घटना अनुसन्धानका क्रममा रहेकाले प्रहरीले यसबारे थप विवरण उल्लेख गरेको छैन।
निर्माण व्यवसायीसमेत रहेका शर्माको ठिमी नगरपालिका-३ गठ्ठाघरमा प्रदेश निर्माण सेवा छ। बालकोट बस्दै आएका दोलखाका जिल्लास्तरीय नेता शर्मा बालकोट एमालेको गत जिल्ला अधिवेशमा उनी उपसचिव पदको उम्मेदवार बनेका थिए।
ठेक्कापट्टा साथै शर्मा मिटरब्याजको कारोबारमा सक्रिय छन्। उनलाई भरतपुरका एक जना निर्माण व्यवसायीलाई मिटरब्याजमा रकम लगाएर पीडित बनाएको आरोप लागेको थियो।




















