पाल्पा—  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई अहिले जनताले आशाको नजरले हेरिरहेका बताएका छन  । एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई  उद्घाटन गर्दै पोखरेलले यस्तो अवस्थामा पनि पुराना दलले केही गर्न सक्दैनन् भन्दै जनतामा निराशा फैलाउने काम भइरहेको बताए ।

सामाजिक अराजकता अस्थिरता आज समाजमा चुनौतीका रूपमा प्रकट भइरहेका उनले बताउनुभयो । ‘अस्थिरता र समृद्धि साथसाथै अघि बढ्न सक्दैन, मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने हो भने अस्थिरतालाई पराजित गर्ने पर्दछ’, उनले भने ।

मुलुक अहिलेकै अवस्थाबाट राजनीतिक स्थायित्व र स्थिरताको बाटोमा अघि बढ्न नसक्ने उनले बताए  यसबाट मुलुकलाई निकास दिने क्षमता नेकपा एमालेसँग मात्र भएको उनले प्रष्ट पारे  । समाजमा अस्थिरता र अराजकता मच्चाउनेका विरुद्ध एमाले एकजुट भएर उभिनु पर्नेमा पोखरेलले जोड दिए  ।

ठूला पार्टीका नेता तथा कार्यकर्ता जनतामाझ नीति, कार्यक्रम, विचार र योजना लिएर नजाँदा अराजकतावादीले टाउको उठाउने प्रयास गरिरहेका उनले बताउनुभयो । अहिले अराजकहरूको भिडमा जनता जान लागेकाले प्रमुख राजनीतिक दलले त्यसलाई रोक्नु पर्ने धारणा राख्नु भयो ।

UML-palpa-1राजनीतिक अस्थिरता फाइदा उठाउँदै देशको मौलिक तथा सांस्कृतिक आधारमाथि बाह्य पक्षबाट समेत निरन्तर प्रहार भइरहेको उनले बताए  । यसले राष्ट्रियता कमजोर पार्ने खेल भइरहेकोले सचेत हुन उमले आग्रह गरे ।

पोखरेलले देश विकासका लागि दूरदर्शी नेतृत्व, बलियो राजनीतिक शक्ति र राजनीतिक स्थिरता आवश्यक रहेको बताए  । एमालेसँग बलियो संगठन, दूरदर्शी नेतृत्व र स्पष्ट दृष्टिकोण भएको उनले दाबी गरे ।

चौतर्फी घेराबन्दीको बेलामा समेत सबै चुनौतीको सामना गर्ने शक्तिको रूपमा नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओली स्थापित हुनुभएको पोखरेलले बताए । त्यसैले एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुनसक्ने उनले दाबी गरे । पोखरेलले एमाले र माओवादीको सहकार्य निरन्तर रहने पनि तत्काल पार्टी एकता भने सम्भव नभएको बताए । ‘तत्काल एमाले र माओवादी पार्टी एकीकरण हुने हो कि भन्ने सोच्नु भएको छ भने अहिले हतार हुन्छ’, उनले भने  ।

एमालेले विगतको कमजोरीबाट पाठ सिकोको बताउँदै उनले एमाले हतार हतार पुन पार्टी एकीकरण गर्ने पक्षमा नरहेको बताए  । हिजो नेताहरूको टाउको जोड्दा असफल भएको बताउँदै पोखरेलले अब नेताहरूको टाउको होइन कम्युनिष्ट पार्टी एकताको लागि कार्यकर्ता र जनताको मन जोड्ने काम गरिने स्पष्ट पारे  ।

पोखरेलले अहिलेको सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म लैजानु पर्छ भन्नेमा एमाले स्पष्ट रहेको बताए। त्यसैले एमालले प्रधानमन्त्री वा कुनै मन्त्रालय नरोजेको पोखरेलले स्पष्ट पारे  । एमाले विरुद्धको घेराबन्दी भत्काउन एमाले सफल भएको भन्दै पोखरेलले एमाले यसलाई जगाएर अघि बढाउने पक्षमा रहेको बताए । ‘हामी नयाँ समीकरण मिसन २०८४ सम्म लिएर जान चाहन्छौँ’, पोखरेलले भने ।

एमाले मुलुकको ओरालो यात्रालाई रोक्ने प्रयत्नमा रहेको उनले स्पष्ट पारे  । मुलुकको नकारात्मक बाटोलाई एमालेले समीकरण बदलेर सही ठाउँमा ल्याउने प्रयत्न गरिरहेको उनले बताए  ।