बेलबारी — मोरङको बेलबारी –१ स्थित सगरमाथा इङलिस स्कुलले तीनदिने शिक्षक तालिम प्रारम्भ गरेको छ । तालिमको उद्घाटन बेलबारी नगर प्याब्सनका अध्यक्ष भगवतीप्रसाद घिमिरेले गरेका छन् ।
तालिमको उद्घाटन गर्दै अध्यक्ष घिमिरेले आधारभूत विषयको यस्ता तालिम शिक्षकशिक्षिकालाई अत्यन्त उपयोगी हुने हुँदा प्याब्सनले पनि चाँडै आयोजना गर्ने बताए । उनले तालिमपछि सहभागीले अझ व्यवस्थित र प्रभावकारी शिक्षण गर्ने कुरामा विश्वास व्यक्त गरे ।
त्यस्तै अनुसन्धान तथा विकास मञ्च बेलबारीका अध्यक्ष उपप्राध्यापक भीमबहादुर बस्नेतले यस्ता तालिमले शिक्षकलाई अझ अनुभवी र क्षमतावान् बनाउने विश्वास व्यक्त गरे । स्कुलका निर्देशक लेखबहादुर धिमालले स्कुलले तालिमको आयोजना गर्नुको मुख्य उद्देश्य गुणस्तरीय शिक्षणका माध्यमबाट दक्ष विद्यार्थी उत्पादन गर्नु रहेको बताए ।
तालिममा प्रिन्सिपल इरानकुमार राईले निजी विद्यालयका शिक्षक सबैले शिक्षा सङ्कायबाट शिक्षा प्राप्त गरेको हुन नसक्ने, शिक्षकहरू विज्ञान, व्यवस्थापन, मानविकी, प्राविधिकलगायतका क्षेत्रबाट पनि आउने भएकाले शिक्षणका आधारभूत ज्ञान, सिपलाई बुझ्न/बुझाउन छिमेकी स्कुलका शिक्षकसमेतलाई तालिमको व्यवस्थापन गरेको बताए । साथै, बाँकी चार विषयहरू “शिक्षाका उद्देश्यहरू”, “केस स्टडी”, “मूल्याङ्कन प्रक्रिया” तथा “आफ्नो विषयमाथि अनुसन्धान” यही जेठ १९ गते प्रशिक्षक गणेप्रसाद दाहालले तालिम दिनुहुने पनि प्रिन्सिपलले राई जानकारी दिए ।
स्कुलका निर्देशक लेखबहादुर धिमालले स्कुलले तालिमको आयोजना गर्नुको मुख्य उद्देश्य गुणस्तरीय शिक्षणका माध्यमबाट दक्ष विद्यार्थी उत्पादन गर्नु रहेको बताए ।
स्कुलकै तालिमहलमा आयोजना गरिएको तालिमको पहिलो दिन “पाठयोजना” र “शिक्षण विधि” विषयमा अग्रज शैक्षिक व्यक्तित्व अमृतप्रसाद आचार्यले तालिम प्रदान गरेका थिए ।
तालिममा ३५ जना शिक्षकशिक्षिका सहभागी रहेको प्रिन्सिपल राईले जानकारी दिए । जसमा सगरमाथा इङलिस स्कुलका २३ जना, बालजगत् इङलिस स्कुल, बेलबारी–९ डाँगिहाटका पाँच जना र छिमेकी जिल्ला सुनसरीकोस्काई इङलिस स्कुल, बराहक्षेत्र–३ बाट २ जना सुनसरी स्टार इङलिस स्कुल, बराहक्षेत्र–६ का ५ जना रहेका छन् ।
उक्त तालिमको उद्घाटन कार्यक्रममा स्काई स्कुलका अध्यक्ष राजन राई तथा सुनसरी स्टारका प्रिन्सिपल अवियोग राईको पनि आतिथ्यता रहेको थियो । जेठ १२ गतेदेखि सुरु भएको तालिम १४ गतेसम्म चल्ने छ ।



















