विराटचोक - सुनसरी, मोरङ र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-४ का २३ वर्षीय सरोज पदालुङ (लिम्बू ) को साथबाट ५० मिलिग्राम ब्राउनसुगर र फिदिम-१ का २३ वर्षीय चुक्से भनेर चिनिने दिलबहादुर राईको साथबाट ८० मिलिग्राम ब्राउन सुगर, नगद ४३ हजार ६ सय रुपैँया सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ३६ वर्षीय रामचन्द्र खड्का र २२ वर्षीय सुजन परियारलाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले स्पाइसरेष्ट र ट्रामानिल समेत गरी ३ सय ७० ट्याब्लेट निषेधित औषधी सहित पक्राउ गरेको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-१ का ३१ वर्षीय सुमन तामाङलाई लुपिजेसिक, फेनारागन, डाईजेपाम र एभिल गरी जम्मा ३६ एम्पुल औषधी सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।




















