ताप्लेजुङ, १४ साउन । बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ ।

प्रत्येक घरमा रहेका ध्वजा (थाच्यो) मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजिकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । हिमाली चराचुरुङ्गीको चिरबिर उत्तिकै । यो परिवेश अन्त कतैको नभई ताप्लेजुङको हिमाली बस्ती तोक्पेगोलाको हो । पुग्ने जो कोहीले भन्छन्, ‘आहा तोक्पेगोला ।’

एक पटक पुगे पछि उतै रहुँ रहुँ लाग्ने तोक्पेगोला बस्तीबाट १० मिनेट उकालो चढ्दा फुत्त तराईको फाँट पुगेझैं लाग्छ । त्यहाँबाट केही पाइला अघि सरेपछि वरिपरी अग्ला पहाडका टाकुरा भेटिन्छ । कतै भञ्ज्याङ जस्तै देखिने त कतै हिमालको चुचुरो जस्तै देखिने । यिनै पहाडका टाकुराबीच तराईको फाँटझै लाग्ने भूमिमा ऐनाझैं टल्किने सोदु पोखरीले सबैलाई आफ्नो मुहार देखाइरहेको हुन्छ ।

पोखरीकै आसपासबाट चीनको तिब्बत र संखुवासभा जाने बाटोभरि लस्करै याक र चौँरी हिँडिरहेको देख्दा जो कोहीको मन फुरुङ्ग भएर आउँछ । यिनै सुन्दरताले होला सदरमुकाम फुङलिङबाट दुई दिनको यात्रामा पुगिने सो क्षेत्रमा पुग्दा थाकेको शरीर एकाएक चङ्गा जस्तै भई दिन्छ ।