विराटचोक — मोरङको सुन्दरहरैँचा-१० स्थित सुकुना माध्यामिक विद्यालयले डेंगु रोकथाम र नियन्त्रणका लागि विद्यालय सरसफाइ अभियान सुरु गरेको छ । डेंगु रोग बारे विद्यार्थीहरुलाई सचेतना जगाउदै विद्यालयले विद्यालय परिसर भित्र सरसफाइ गरेको हो ।
बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टाको समय विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,वडाका जनप्रतिनिधिहरु,शिक्षक,कर्मचारी र विद्यार्थीहरु मिलेर सरसफाईमा जुटेकाे थियाे ।
अभियानका बारेमा जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले डेंगुको जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाई अभियान सुरू गरेको बताए । उनले डेंगुको नियन्त्रण र न्युनिकरणका लागि पानी जम्मा हुने भाँडा घोप्ट्याउने, ओसिलो ठाउँ हुन नदिने गर्न सुझाव दिए । उनले सरसफाई अभियानले डेंगुमात्र नभइ अन्य रोगहरु पनि नियन्त्रण र रोकथाम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
भदौ र असोज महिनामा आफ्नो विद्यालय सफा गर्ने अभियान चलाउनसके मात्रै पनि डेंगु नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ । डेंगी रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय वातावरणीय हेरफेर र परिमार्जन हो । जुन खोज र नष्ट विधिमार्फत प्राप्न गर्न सकिने चिकित्सकहरु बताउँछन् । खोज र नष्ट विधि घरदेखि ठूला सामुदायिक अभियानहरूसम्म सबै स्तरहरूमा लागू गर्न सकिने विज्ञहरूको भनाइ छ ।
यसका लागि कुनै परिष्कृत उपकरण तथा विशेष सीप वा विशेषज्ञको आवश्यकता नपर्ने र समुदायिक सहभागिताबाटै गर्न सकिने भएको हुँदा यो विधि लागत प्रभावी रहेको विज्ञहरुको सुझाव छ । समुदायहरूलाई नियमित खोजी र नष्ट गतिविधिहरूमा संलग्न गरेर, यसले डेंगी रोकथाम प्रयासहरूमा स्वामित्व र जिम्मेवारीको भावनालाई बढावा दिनुका साथै दिगोपनलाई सुनिश्चित गर्न सकिने चिकित्सकहरूको विश्वास छ ।

























