पथरी — मोरङको पथरीशनिश्चरेमा भएको अन्तर मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिका- १ मा रहेको पञ्चायत मावि प्रथम भएको छ ।
वडा न. ७ मा रहेको दुर्गा माविको आयोजनामा बिहिबार भएको प्रतियोगितामा पथरी शनिश्चरे- ७ को चन्द्र किराँतेश्वर मावि दोस्रो, पथरी शनिश्चरे- ४ को भागिरथ मावि तेस्रो र पथरी शनिश्चरे- ५ को सुगाहाट मावि र आयोजक दुर्गा मावि सान्तावना भएका छन् ।
प्रतियोगिता अवधिमा सुगाहाट मावि र दुर्गा माविको समान ८ अङक भएको हुनाले दुवै विद्यालयका विद्यार्थीहरुलाई सान्तवना पुरस्कार प्रदान गरिएको आयोजक विद्यालयका शिक्षक केशव न्यौपानेले बताए ।
प्रतियोगितामा प्रथम भएका पञ्चायत माविका विद्यार्थीहरुलाई पथरी शनिश्चरे नगरपालिका कार्यालयका नगर खेलकुद तथा शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र विराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे- १ का संरक्षक योगेन्द्रमान कार्कीले नगद पुरस्कार २ हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा दोस्रो,तेस्रो र सान्त्वना हुने विद्यालय विद्यार्थीहरुलाई आयोजक विद्यालयका प्रधानाध्यपक यादव घिमिरे, भूपु सैनिक अंग्रेजी स्कुलका प्रिन्सिपल उपेन्द्र कँडेल र मनकामना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मोहनकुमार श्रेष्ठले पुरस्कार रकम र प्रमाणपत्र प्रदान गरेका थिए ।
दोस्रो स्थान भएका चन्द्र किराँतेश्वर माविलाई १ हजार ५ सय नगद पुरस्कार सहित प्रमाण पत्र, तेस्रो भएका भागिरथ माविलाई नगद १ हजार रुपैयाँ पुरस्कार सहित प्रमाण पत्र र सान्तवना हुने सुगाहाट मावि र दुर्गा माविलाई नगद पुरस्कार ५ सय रुपैयाँ र प्रमाण पत्रको व्यवस्था गरिएको थियो ।
पथरीशनिश्चरे नगरपालिका भित्रका अन्तर सामुदायिक माध्यमिक विद्यालय स्तरिय भएको प्रतियोगितामा नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयबाट प्रश्नहरुको छानौट गरिएको हाजिरी जवाफ गरिएको थियो ।
प्रतियोगितामा आयोजक विद्यालय सहित जम्मा- ११ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिताको छनौटमा नपरेका सहभागी विद्यार्थीहरुलाई भने यातायात खर्च उपलब्ध गराइएको विद्यालयका प्रधानाध्यापक यादव घिमिरेले जानकारी दिए ।
उक्त प्रतियोगिता विराजराजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका अध्यक्ष बिराजराजा कार्की (हाल अमेरिका) र संरक्षक योगेन्द्रमान कार्कीको आर्थिक सहयोगमा आयोजना भएको थियो । उनीहरुलाई कद्धरपत्रले समेत सम्मान गरिएको थियो । कार्यक्रममा अतिथीहरुलाई ब्याच र खदाको सट्टामा विद्यार्थीहरुले तयार पारेको सिलाम साक्माले सम्मान गरिएको थियो भने शिक्षिकाहरुले तयार पारेको सत्यजीवनको बिरुवा रोपिएको गमला मायाको चिनोको रुपमा प्रदान गरिएको थियो ।



















