काठमाडौं—काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् ।
जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईं जाडोमा विशेषगरी श्वासप्रश्वाससम्बन्धी रुघाखोकी, निमोनिया, ‘कोल्ड डाइरिया’ (चिसोले हुने झाडापखाला) का समस्या बढी देखिने बताउँछन् । ‘चिसोबाट बालबालिकालाई जोगाउन पौष्टिक आहारको जरुरत पर्दछ ।
जुनसुकै समयमा पनि बालबालिकालाई पौष्टिक आहार आवश्यक पर्ने भए पनि जाडोमा अन्य समयमाभन्दा बढी चाहिन्छ । यसले साधारण रोग पचाउन सहयोग गर्छ’ उनले भने । साथै सरकारले उपलब्ध गराएका सबै खोप लगाउनुपर्ने उनको भनाइ छ ।
‘खोप लगाएका बच्चालाई अरुलाई भन्दा कम रोग लाग्छ । दादुराको खोप लगाएका बच्चालाई निमोनिया हुने जोखिम कम हुन्छ’ डा चापागाईंले भने । जाडोमा बालबालिका चिसो मानेर नुहाउन नमान्ने, हात खुट्टा धुन गाह्रो मान्ने भएकाले पनि रोगको सङ्क्रमण बढी देखिने उनको भनाइ छ ।
रुघाखोकी लाग्दैमा औषधि खानु वा खुवाउनु नहुने भन्दै कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. चापागाईंले निरन्तर रुघाखोकी लागेमा विशेषज्ञ चिकित्सको परामर्श लिनुपर्नेमा जोड दिए ।
डा.चापागाईंले भने, ‘सरसफाइमा ध्यान दिन सके जाडो वा गर्मीमा रोग लाग्ने सम्भावना कम रहन्छ । बच्चाहरू चिसोमा नुहाउन अल्छी मान्छन् । सरसफाइ नहुँदा छालाका रोग पनि देखिन सकिन्छ ।’
उनले जाडो याममा कोठा न्यानो राख्न हिटर तथा कोइला बाल्दा जहिले पनि सफा हावाको आवतजावत हुने वातावरण बनाइराख्न र झ्याल तथा ढोका ड्याम्म नलगाउन आग्रह गरे ।
त्रिवि शिक्षण अस्पतालकी बाल स्वास्थ्य नर्सिङ विभागकी सहप्राध्यापक अप्सरा पाण्डेले जाडो मौसम सुरु भएसँगै अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त मात्रामा झोलिलो खान, न्यानो लुगा लगाइदिन, दैनिक १५ देखि ३० मिनेट घाम ताप्न लगाउनेलायत काम गर्नुपर्ने बताउँछिन् ।



















