विराटचोक—अमेरिकाको विश्वविद्यालयबाट हालै मानार्थ विद्यावारिधी उपाधि प्राप्त गरेका चर्चित साहित्यकार छवि वैरागी घिमिरेलाई सुन्दरहरैँचाका ४ वटा साहित्यिक संस्थाले विशेष सम्मान गरेका छन्। उनको मानार्थ विद्यावारिधी उपाधि, सामाजिक सेवा, र साहित्यमा पुर्याएको योगदानको सम्मानस्वरूप आयोजित “स्रष्टा र सिर्जना सम्मिलन” समारोहमा साहित्यिक तथा सामाजिक व्यक्तित्वहरूको व्यापक सहभागिता रहेको थियो।
शनिबार सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको कार्यक्रममा सुन्दरहरैँचा कला साहित्य विकास समिति, नझरेका फूलहरू, श्री भानु साझा पुस्तकालय र राइडर्स महफिलले सम्मान गरेको नझरेका फूलहरूका संथापक संथापक केपी घिमिरेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौला, अतिथिहरू निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकाल, तथा समाजसेवी र साहित्यिक व्यक्तित्वहरू ललितबहादुर श्रेष्ठ, नागेश पोखरेल, भगवती पौडेल, र साहित्यकार अमृतप्रसाद आचार्य, भक्तिप्रसाद सिटौला, गोपालबहादुर थापा विदुर सुवेदी, तिला लेकाली, रामप्रसाद खरेल, जीवन राईजस्ता प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी साहित्यकारहरूले छवि वैरागीको साहित्यिक यात्रा, सामाजिक योगदान, र उनले नेपाली साहित्यमा पुर्याएको योगदानको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
साहित्यिक माहोललाई थप सजीव बनाउन किरण टी. लिम्बू, गीताप्रसाद श्रेष्ठ, बिशाल गुरागाईं, रुपनारायण श्रेष्ठ, र यादव भट्टराईलगायतले आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए।
यो सम्मान कार्यक्रम सुन्दरहरैँचा कला साहित्य विकास समिति, नझरेका फूलहरू, भानु साझा पुस्तकालय, र राइडर्स महफिलको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सुन्दरहरैँचा, बेलबारी, ग्रामथान, इटहरी, र उर्लाबारी क्षेत्रका साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गत आइतबार भारतको नयाँ दिल्लीमा आयोजित एक भव्य समारोहमा घिमिरेलाई अमेरिकन विश्वविद्यालय (केडारब्रुक) ले आफ्नो स्थापना दिवसको अवसरमा यो सम्मान प्रदान गरेको थियो ।
सुन्दरहरैँचा-४ निवासी छवि वैरागीको यस उपलब्धिले नेपाली साहित्यको गरिमा अझ बढाएको विश्वास गरिएको छ। भानु साझा पुस्तकालयका अध्यक्ष साहित्यकार पुरन राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।




















