विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगरक्षेत्रभित्रका जग्गाहरूको वर्गीकरण विवरण सार्वजनिक गरेको छ। भूउपयोग सम्बन्धी ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ बमोजिम गठित स्थानीय भूउपयोग परिषद्को निर्णयअनुसार जग्गाको उपयोगका आधारमा कित्तागत वर्गीकरण गरिएको हो।
नगरपालिकाले सार्वजनिक गरेको विवरण www.sundarharaichamun.gov.np (वेबसाइटमा हेर्न यहाँ क्लिक गर्नुहोस) वेबसाइटमा अपलोड गरिएको छ। सम्बन्धित जग्गाधनीहरूले आफ्नो जग्गाको विवरण सो वेबसाइटमा हेर्न सक्नेछन्।
यदि वर्गीकरण विवरणमा छुट भएको छ वा कुनै त्रुटि रहेको खण्डमा, सो विषयमा मिलाउनका लागि सूचना प्रकाशनको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सकिने जानकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले दिएका छन्।
यो पनि पढ्नुहोस-सुन्दरहरैँचामा नागरिकताको अनलाइन सिफारिस सेवा सुरु
नगरपालिकाले जग्गाको वर्गीकरण व्यवस्थित गर्न सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताएको छ। यसका लागि तोकिएको समयसीमाभित्र निवेदन दिन र वर्गीकरणलाई सुसूत्रीकरण गर्न सबैलाई सहकार्यका लागि अनुरोध गरिएको छ।
यो प्रक्रिया भूउपयोगलाई प्रभावकारी बनाउने तथा नगरक्षेत्रको योजनाबद्ध विकासमा मद्दत पुर्याउने उद्देश्यले अघि बढाइएको छ।
यो पनि पढ्नुहोस - सुन्दरहरैँचा विराट एक्स्पो ४: पहिलो दिनमै ५ हजार दर्शकको उपस्थिति



















