विराटनगर— डा. मोहन खड्काले नोबेल मेडिकल कलेज शिक्षण अस्पताल छाडेको घोषणा गरेका छन् । उनले बुधबार सामाजिक संजाल मार्फत उक्त अस्पताल छाडेको घोषणा गरेका हुन् ।

तीन वर्षदेखि नोबेल मेडिकल कलेज शिक्षण अस्पताल आफुले सेवा प्रदान गरेको र बिहीबारदेखि नियमित रूपमा अस्पतालमा काम नगर्ने बताएका छन् ।

डा. खड्काले केही दिनभित्रै ग्यास्ट्रिक र कलेजोको रोगको उपचारका लागि नयाँ केन्द्र सुरु गर्ने घोषणा पनि गरेका छन्। 

उनले विशेष गरी आर्थिक रूपमा कमजोर बिरामीहरूलाई आफ्नो व्यक्तिगत पहलबाट निःशुल्क सेवा दिने योजना रहेको जानकारी गराएका छन्। डा. खड्काले भने, "मेरो उद्देश्य सबै बिरामीलाई गुणस्तरीय उपचार सुनिश्चित गर्नु हो, विशेष गरी ती व्यक्तिहरूका लागि जो आर्थिक रूपमा असमर्थ छन्।"

मोरङको लेटाङ घर भएका डा. खड्का गरिब र दिनदुःखी बिरामीलाई सहयोग गर्न विशेष रुचि राख्ने चिकित्सकका रूपमा परिचित छन्। कम्युनिष्ट विचारधाराप्रति झुकाव राख्ने डा. खड्का नेकपा एमालेका समर्थक रहेका छन् ।