काठमाडौं — काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ।

शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा आयोजित प्रदर्शनको क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–१ निवासी ५४ वर्षीय केशवराज जोशीमाथि अन्य शिक्षकहरूले कुटपिट गरेका हुन्।

प्रहरीका अनुसार आपसी मतभेदका कारण १५–२० जना शिक्षकले जोशीमाथि आक्रमण गरी घाइते बनाएका हुन्। जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभूत माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक हुन्। उनी पनि शिक्षक महासंघको आन्दोलनमा सहभागी हुन काठमाडौं पुगेका थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार घाइते जोशीलाई तत्कालै प्रहरी टोलीले उद्धार गरी मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।

उनको टाउकोमा टुटुल्को उठेको छ र शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ। हाल उनी बोल्न सक्ने अवस्थामा रहेका छन्।