इटहरी / मोरङ्गको सुन्दरहरैंचामा एक १७ वर्षीया किशोरीलाई मदिरा पिलाएर सामुहिक बलात्कार गरिएको छ ।
मदिरा पिलाएर सामुहिक बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैंचा नगरपालिका–१ की किशोरीलाई शनिबार राति सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आज (आइतबार) बिहान पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका–५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारू रहेको मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार शनिबार राति पक्राउ परेकामध्ये एक जनालाई ती किशोरीलाई बोलाएर लट्ठ हुने गरी मदिरा पिलाएका थिए । किशोरी लठ्ठिएपछि उनले अरू तीन जना साथीलाई बोलाएर केराघारीमा पुर्‍याए र त्यहाँ पनि मदिरा सेवन गराए ।

‘मदिरा सेवन गरेपछि किशोरी अचेतझैं भएपछि उनीहरूले सामुहिक करणी गरेको खुल्नमा आएको छ,’ अधिकारीले भने । राति नै पीडकमध्येका एक युवककी श्रीमती श्रीमान् खोज्न जाने क्रममा केराघारीमा युवतीमाथि करणी गरिरहेको देखेपछि उनैले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरीले त्यसपछि युवाहरूको खोजी थालेको थियो । स्वास्थ्य परीक्षण गर्न किशोरीलाई कोशी अञ्चल अप्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।