चितवन– चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो ।
सडक यात्राको सुरक्षालाई ध्यानमा राखेर जिल्लामा रहेका बाहिरी राजमार्ग र भित्री सडक खण्डमासमेत सशस्त्र प्रहरीलाई परिचालन गर्नेगरी निर्णय गरिएको छ । दशैँ, तिहार, छठलगायत पर्वमा नेपाल प्रहरीको जिम्मेवारी धेरै हुने र मुख्य राजमार्गमा सशस्त्रले गस्ती गरिदिँदा धेरै सहज हुने अनुमान गरिएको छ । जिल्लाको मकवानपुरको सिमाना लोथल खोलादेखि धादिङ र चितवनको सिमाना मौवाखोलासम्मको सडक क्षेत्र मुख्य राजमार्ग हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले राजमार्ग क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी खटिँदा जिल्लाको शान्ति सुरक्षामा थप बल पुग्ने बताए । जिल्ला प्रहरी अन्तर्गत ३३ वटा स्थायी पोष्ट र ६८ वटा अस्थायी पोष्ट रहेका छन् ।
जिल्लामा ९३ किलोमिटर राजमार्ग, ३०८ किलोमिटर पक्की सडक, १ हजार ३२० किलोमिटर ग्राभेल सडक र ५५५ किलोमिटर कच्ची सडक गरी दुई हजार १८३ किलोमिटर सडक रहेको छ ।



















