काठमाडौँ—कैलालीमा लागुऔषध ओसार-पसारमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानसहित ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसी, सोही नगरपालिका, ५ गेटाका २० वर्षीय कमल रिजालसहित ६ जना रहेका छन् । बिसीको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

यस्तै पक्राउ परेका कमल रिजालको साथबाट पाँच ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको डीएसपी सिंहले बताए । रिजाललाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

मंगलबार नै घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएराति करिब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका(१ को सुखडबाट उनीहरुलाई पक्राउ गरिएको हो ।