काठमाडौं—हाल दैनिक पिक डिमान्ड २ हजार मेगावाट र सामान्य माग १ हजार ८०० मेगावाटको हाराहारीमा रहेको छ। यसरी आन्तरिक माग पुरा गरेपछि बचतमा रहेको विद्युत् भारत र बंगलादेशमा निर्यात भइरहेको छ।

काठमाडौं- वर्षायाम सुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ७०० मेगावाट पुगेको छ। हाल दैनिक पिक डिमान्ड २ हजार मेगावाट र सामान्य माग १ हजार ८०० मेगावाटको हाराहारीमा रहेको छ। यसरी आन्तरिक माग पुरा गरेपछि बचतमा रहेको विद्युत् भारत र बंगलादेशमा निर्यात भइरहेको छ।

‘अहिले हामीसँग बिजुलीको छेलोखेलो छ,’ शाक्यले भने, ‘आन्तरिक माग धानिसकेपछि भारतमा साढे ६ सयदेखि ७ सय मेगावाट र बंगलादेशमा ४० मेगावाट निर्यात भइरहेको छ।’

नेपालले हाल भारतसँगको विद्युतीय व्यापार प्रणाली अन्तर्गत दैनिक ७०० मेगावाट हाराहारीमा विद्युत् निर्यात गरिरहेको छ। यस्तै, बंगलादेशमा पहिलोपटक नियमित रुपमा असार १ देखि ४० मेगावाट विद्युत् निर्यात सुरु गरिएको छ। यससँगै नेपाल दक्षिण एसियाबाट तेस्रो मुलुकमा विद्युत् निर्यात गर्ने पहिलो राष्ट्र बनेको छ।

सुक्खायाममा जलस्रोत सुक्खा हुँदा उत्पादन घट्ने र माग बढ्ने भएकाले अघिल्लो सिजनमा प्राधिकरणले भारतबाट विद्युत् किनेर पनि माग धान्न सकेको थिएन। त्यसले गर्दा केही औद्योगिक क्षेत्रहरूमा अघोषित लोडसेडिङ समेत गर्नुपरेको थियो। तर हाल उत्पादन क्षमताको विस्तारसँगै वर्षायाममा विद्युत् निर्यात सहज हुन थालेको प्राधिकरणले जनाएको छ।

नेपालले भारतको विभिन्न विद्युत् आदान–प्रदान केन्द्रमार्फत प्रतिस्पर्धात्मक दरमा बिजुली बिक्री गरिरहेको छ। त्यस्तै, टनकपुरबाट १७ मेगावाट निःशुल्क विद्युत् आयात पनि भइरहेको छ, जुन महाकाली सन्धिअनुसारको व्यवस्था हो।

विद्युत् निर्यातमार्फत देशको व्यापार घाटा घटाउन र जलविद्युत्को पूर्ण उपयोग गर्न सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।