सुन्दरहरैँचा— सुन्दरहरैँचा नगरपालिकाले दलित समुदायलाई आत्मनिर्भर बनाउन र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न पेशागत सामग्री वितरण गरेको छ।
दलित समुदायको आर्थिक सशक्तीकरणका लागि आयोजित कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, कार्यपालिका सदस्य रूजा घिमिरे, प्रमिला लकान्द्री, ९न. वडा सदस्य शारदा गदाइली सहित दलित उत्थानमा सक्रिय व्यक्ति र जनप्रतिनिधिहरूको उपस्थिति थियो।
नगरपालिकाले वितरण गरेका सामग्रीहरूमा २ थान फलाम काट्ने ग्रेन्डर मेसिन, ३६ थान कपडा सिलाउने मेसिन, २ सेट नौमती बाजा र ६ थान आरन भाँटी रहेका छन्।
नगरप्रमुख गुरागाईंले यस्ता कार्यक्रमले विपन्न समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले सामग्रीको नियमित अनुगमन गरिने र यसको उचित उपयोगिता सुनिश्चित गरिने जानकारी पनि दिए।
उपप्रमुख अकली चौधरीले संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनमा स्थानीय सरकार प्रतिवद्ध रहेको बताउँदै, दलित समुदायका लागि छुट्याइएको १० लाख रुपैयाँको बजेटबाट सामग्री वितरण गरिएको जानकारी गराइन्।
सामग्री वितरणले दलित समुदायलाई पुर्खौली पेशामा प्रोत्साहन गर्दै आर्थिक उन्नतिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।



















