तानसेन — राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट निर्माण कार्य सम्पन्न भएको छ। सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीका अनुसार मुख्य सुरुङको १,०८९ मिटर क्षेत्रमा इन्भर्ट निर्माण कार्य बुधबार सकिएको हो।
उनका अनुसार, “इन्भर्ट निर्माण सकिएसँगै अब लाइनिङ कार्यमा तीव्रता दिइएको छ। हालसम्म ८३४ मिटर लाइनिङ सकिएको छ।”
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ दोभान क्षेत्रमा निर्माण भइरहेको यो सुरुङमार्गको समग्र भौतिक प्रगति ५६.३ प्रतिशत र वित्तीय प्रगति ५०.२४ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ। सुरुङमार्गको ब्रेक थ्रू भइसकेपछि निर्माण कार्यमा उल्लेख्य गति आएको छ।
सिद्धबाबा मन्दिरदेखि सुरु भई दोभानसम्म पुग्ने गरी १,१२६ मिटर लम्बाइको यो सुरुङमार्ग सन् २०७९ सालदेखि निर्माण सुरु गरिएको हो। चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले रु ७ अर्ब ३४ करोड २१ लाख ४० हजार लागतमा सन् २०८३ सालभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य गरिरहेको छ।
सुरुङमार्ग बनाइँदै गरिएको सडकखण्ड पहिरोका हिसाबले अति संवेदनशील मानिन्छ। सुक्खा मौसममा समेत धुलो पहिरो झर्ने गरेकाले यात्रुहरूको सुरक्षाका लागि यो सुरुङमार्ग निर्माण थालिएको हो। यही खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दी जिल्लातर्फ सवारीसाधन सञ्चालन हुने गर्छन्।
सरकारले सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिसकेको छ।



















