विराटचोक — मोरङको बेलबारी नगरपालिका–१ का २७ वर्षीय कैलाश तामाङ पछिल्ला पाँच महिनादेखि मिर्गौला फेल भएर जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन्। आर्थिक अवस्था नाजुक भएका कैलाशको जीवनरक्षा गर्न मिर्गौला प्रत्यारोपण अपरिहार्य भइसकेको छ। तर सबै कानुनी प्रक्रिया पूरा भइसकेको अवस्थामा पनि प्रशासनिक ढिलाइले उनको उपचार रोकिएको छ।
कैलाशकी आमा गीता तामाङले आफ्नै मिर्गौला दान दिने सहमति दिइसकेकी छन्। चिकित्सकीय परीक्षणबाट पनि प्रत्यारोपणका लागि उनी उपयुक्त प्रमाणित भएकी छन्। सांसद तथा चिकित्सक डा. सुनिल शर्माले स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेजमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने जिम्मा लिइसकेका छन्।
तर, उपचारको बाटोमा कागजी अड्चन मुख्य बाधक बनेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयको प्रशासन शाखाका प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले आवश्यक कागजात अगाडि नबढाउँदा प्रत्यारोपण प्रक्रिया रोकिएको तामाङ परिवारको आरोप छ।
कैलाशकी आमाको विगतमा दोस्रो विवाह भइसकेको विषयलाई लिएर कानुनी प्रक्रिया अल्झिएको जनाइएको छ। यद्यपि उनी हाल मोरङमै बसोबास गर्दै आएकी छन् र स्थानीय तह तथा मोरङ जिल्ला प्रशासन कार्यालयबाट सबै स्वीकृति तथा सिफारिस प्राप्त भइसकेको छ।
"हामीले मोरङबाट आवश्यक कागजात काठमाडौं पठाइसकेका छौं, तर एउटा दस्तखत नहुँदा छोराको ज्यान जोखिममा परेको छ," आमाको भनाइ छ।
यस विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसमक्ष पनि पटकपटक ध्यानाकर्षण गराइए पनि बेवास्ता भइरहेको परिवारको आरोप छ।
कैलाशको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ। चिकित्सकहरूका अनुसार अब ढिलाइ भए बिरामीको ज्यान जोगाउन कठिन हुन सक्छ।
नागरिक जीवनसँग जोडिएको यस्तो संवेदनशील विषयमा प्रशासनको सुस्त र गैरजिम्मेवार रवैयाप्रति तामाङ परिवार मात्र होइन, स्थानीयवासी र नागरिक समाजसमेत आक्रोशित भएका छन्।



















